
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ ।
इन्चार्ज यादवले नक्कली पीसीआर रिपोर्ट बनाएको पुष्टि भएपछि आज (सोमबार) विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।
केन्द्रका तत्कालीन ल्याब इन्चार्ज यादवले पीसीआर टेस्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा यादवले अस्पतालको छाप आफूखुसी बनाइ दुरुपयोग गर्ने गरेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यादवले प्रयोग गर्ने कार्यालयको कम्प्युटरको सिपियुको फरेन्सिक परीक्षण गर्दा फेला परेका पीसीआर रिपोर्टहरू सबै नक्कली भएको समेत अख्तियारले जनाएको छ ।
भर्ना भएका बिरामीहरूको स्वाब सङ्कलन गरी अनधिकृतरूपमा रकम लिई स्वाबको परीक्षण नै नगरी गलत पीसीआर प्रतिवेदन उनले बनाउने गरेको अनुसन्धानमा खुलेको छ ।
रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिई पुन: नेगेटिभ बनाउन गरेको अख्तियारको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्