किसानलाई पठाउने मौसमसम्बन्धी सूचनामा सुधार गर्न निर्देशन

काठमाडौं । किसानलाई विशेष जानकारीसहित स्पष्ट रुपमा मौसमसम्बन्धी सूचना प्रवाह गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्देशन दिएको छ । मौसमी अवस्थाबारे सल्लाह दिने मन्त्रालय मातहतको दुई निकाय नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

धेरै अन्नबाली उत्पादन हुने तराईका २६ जिल्लाका ३० हजार किसानलाई मोबाइलमा एसएमएसमार्फत पठाइने यस्तो सूचना विशेष जानकारीसहित स्पष्ट बनाउन निर्देशन भएको मन्त्रालयका सचिव गोविन्द शर्माले जानकारी दिए ।

‘मौसमी अस्पष्ट सूचनाका कारण गत असोज अन्तिम साता किसानको पाकेको धानमा अधिक असर देखिए पछिसुधार गर्न भनेका हौं,’ सचिव शर्माले भने । अबदेखि सम्भावित प्रलयको विशेष जानकारी दिइने उनको भनाइ छ ।

मन्त्रालय मातहतका निकायको दोधारे सूचनाको भरपर्दा असोज २८ देखि कात्तिक ४ गतेसम्म परेको बेमौसमी वर्षाले पाकेको धानमा ठूलो क्षति पुर्‍याएको थियो ।
नेपाल कृषि अनुसन्धान परिषद्को सल्लाहमा राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम बुलेटिनमा हल्कादेखि भारी वर्षा हुने अनुमानको सूचना जारी गर्दै किसानलाई पाकेको धान पनि भित्र्याउन एसएमएस पठाएको थियो ।

अस्पष्ट सूचनाका आधारमा धान काटेको किसान असोज ३१ गतेदेखिको निरन्तर वर्षातको मारमा पर्दा कुल उत्पादनको झण्डै ८ प्रतिशत क्षेत्रफलको धानमा क्षति पुगेको थियो ।

१०,फाल्गुन.२०७८,मंगलवार १३:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्