रुस हमलाको दोस्रो दिन : यस्तो छ युक्रेनको अवस्था

वासिङ्टन । युक्रेनमा रुसी आक्रमण भएको करिब २४ घण्टा बितिसकेको छ । युद्धमा हालसम्म १३७ युक्रेनीको मृत्यु भइसकेको छ भने ३१६ जना घाइते भएका छन् । जसमा युक्रेनी सैनिकसँगै सर्वसाधारण पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

राजधानी किभ लगायत युक्रेनका विभिन्न भागबाट ठूलो संख्यामा मानिसहरुले देश छाडिरहेका छन् । यसैबीच, रुसी आक्रमणको जवाफ दिँदै आएको युक्रेन सरकारले १८ देखि ६० वर्ष उमेर समूहका मानिसहरूलाई आफ्नो देश छोड्न प्रतिबन्ध लगाएको छ ।

रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो।

पहिलो दिन युक्रेनमा २०३ वटा आक्रमण भएको रुसले जनाएको छ जसमा रुसले युक्रेनमा १६० मिसाइल प्रहार गरेको बताएको छ। राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १,७०० जनालाई पक्राउ गरिएको छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेना राजधानी कीभमा प्रवेश गरेको बताएका छन्। राजधानी किभमा बिहीबार राति १० बजेदेखि बिहान ७ बजेसम्म रात्रि कर्फ्यु लगाइएको छ ।

त्याहाँ प्रत्यक्षदर्शीले रातभरि विस्फोट र हवाई आक्रमणको साइरन सुनेको बताएका छन् । मानिसहरूलाई बत्तीहरू निभाउन र पर्दा लगाउन समेत आग्रह गरिएको थियो। रुसले युक्रेनको स्नेक आइल्याण्डमा समेत कब्जा गरेको छ ।

रुसी सेनाले चेरनोबिल न्यूक्लिएर प्लान्ट र किभ नजिक रहेको युक्रेनी एयरबेस पनि रुसको कब्जामा छ । हवाई आक्रमणका कारण यहाँका भवनहरु ध्वस्त भएका छन् ।

रुसी विमान एन्टोनोभ–२६ युक्रेन नजिकै भोरोनेज क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । यो विमानले उपकरण ढुवानी गरिरहेको रुसले जनाएको छ । विमानका चालक दलका सदस्यको मृत्यु भएको छ । तीमध्ये कति थिए रुसले भने बताएको छैन। हाल रुसको राजधानी मस्कोमा सयौं रुसी नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् ।

साथै भारतले पोल्याण्ड हुँदै आफ्ना नागरिकहरुलाई देश फर्काउने निर्णय गरेको दैनिक भास्करले जनाएको छ।

१३,फाल्गुन.२०७८,शुक्रबार १२:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्