
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई दुस्मनीपूर्ण राजनीति नगर्ने चेतावनी दिएका छन् । उनले पार्टीहरूका बीचमा नखेल्न कांग्रेसलाई चेतावनी दिएका हुन् ।
एमसीसीबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मंगलबार ओलीले विगतमा पनि कांग्रेसले दुस्मनीपूर्ण राजनीति गरेको बताएका थिए । ‘यस्तो खालको दुस्मनीपूर्ण राजनीति एमाले र कांग्रेसबीच गर्नु हुँदैन । कहिले एउटाले लोकेन्द्रबहादुर बोकेको छ ।
लोकेन्द्रबहादुर चन्दलाई बोकेको देखेपछि हाम्रा छैनन् भनेर अर्कोले सूर्यबहादुर थापालाई बोकेको छ । यस्तो नगरौं भन्ने हो,’ ओलीले चेतावनी दिँदै भने, ‘फेरि पनि कांग्रेसले यस्तै गर्छ भने एमाले बाध्य हुन्छ । संयमको पनि सीमा होला ।’
एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा विवाद भएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग पटकपटक छलफल गरेका थिए । प्रधानमन्त्री देउवा आफै राति १० बजेसमेत ओली निवास बालकोट पुगेका थिए । एमालेलाई एमसीसीको पक्षमा मतदान गर्ने निर्णयमा ल्याउन प्रधानमन्त्रीले कांग्रेसका दोस्रो तहका नेताहरूलाई पनि बालकोट पठाएका थिए ।
कांग्रेस र एमालेको गठबन्धन हुन लागेको भन्ने चर्चा चलेका बेला प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने निर्णय लिएका थिए । त्यसका लागि एमसीसीमा व्याख्यात्मक घोषणा गर्न पनि प्रधानमन्त्री तयार भएका थिए । एकातिर आफूसँग सत्ता गठबन्धनका लागि वार्ता गर्ने र अर्कोतिर माओवादी र एकीकृत समाजवादीलाई पनि गठबन्धनमा नै राख्न भूमिका खेल्ने देउवाको दोहोरो राजनीतिलाई लिएर ओलीले आगामी दिनमा पनि त्यस्तै गरे आफूले पनि बाध्य भएर कदम चाल्ने चेतावनी दिएका हुन् ।
ओलीले कांग्रेस र एमाले लोकतन्त्रको पक्षमा एक हुनुपर्ने बताए । एमालेले गठबन्धनको राजनीति नगर्ने उनको भनाइ थियो । एमाले लोकतान्त्रिक आन्दोलनका उपलब्धिको रक्षामा लाग्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्