
काठमाडौं । विभिन्न समयमा चोरी भएर अमेरिका पुगेका मूर्ति र टुँडाल नेपाल फर्काइएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेको टुँडाल र अर्को एउटा काष्ठकलासँगै न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति नेपाल ल्याइएको हो ।
सोमबार काठमाडौं ल्याइएको उक्त मूर्तिलाई पुरातत्व विभागले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको छ ।
पुरातत्व विभागकी सूचना अधिकारी शुभद्रा भट्टराईले अमेरिकाबाट ल्याइएको एउटा बुद्धको मूर्ति, यम्पी महाविहार ललितपुरबाट चोरिएको एउटा तोरण र एउटा झ्यालको मुनि राखिने गन्धर्व आकृतिको काष्ठकला नेपाल फर्काइएको जानकारी दिइन् ।
रुविन म्युजियमकै पदाधिकारीले बुधबार नै नेपालको पुरातत्व विभागलाई यी सम्पदा हस्तान्तरण गर्न लागेका हुन् ।
इटुम्बहालको केशचन्द्र महाविहारबाट हराएको मालासहित उडिरहेकी अप्सरा (गन्धर्व) र पाटनको यम्पी विहारबाट हराएको मूलढोकामाथिको तोरण आकृति न्युयोर्कको रुबिन म्युजियममा फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्