हवाइ सेवाले जोडियो पोखरा र धनगढी

पोखरा । पर्यटकीय नगरी पोखरा र सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी हवाइ सेवामार्फत जोडिएका छन् । बुद्ध एयरले बुधबारदेखि गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढीसम्म हप्ताको तीन दिन हवाइ सेवा सञ्चालन गर्ने भएको छ ।

स्थलमार्ग हुँदै पोखरादेखि धनगढी पुग्न २४ घन्टाभन्दा बढी समय लाग्छ । हवाइ मार्गबाट भने ५५ मिनेटमै पुग्न सकिन्छ । नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको अगुवाइमा पहिलो उडानमा पोखरादेखि धनगढीसम्म जान लागेका पर्यटकलाई गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माले बिदाइ गरे ।

कोरोना महामारीपछि पर्यटन क्षेत्र लयमा फर्किन लागेको बेला पोखरा र धनगढीको हवाइ सम्बन्धले व्यवसायीहरूलाई राहत पुग्ने मन्त्री शर्माले बताए । ‘पर्यटनलाई चलायमान बनाउन झन्झटिलो स्थलमार्गको विकल्पमा अब सुदूरपश्चिमको धनगढी र पोखरा हवाइ सेवा सुरु भएको छ,’ उनले भने, ‘पैसा हुने तर कम समय हुनेले पनि अब पोखरा र धनगढी, रमाउन पाउने छन् ।’

बुद्ध एयरको पोखरा स्टेसन म्यानेजर गौतम बरालका अनुसार पोखरादेखि धनगढीसम्मको भाडादर ६ हजार नौ सयदेखि १२ हजार २४० रुपैयाँसम्म तोकिएको छ । आइतबार, बुधबार र शुक्रबार पोखरा–धनगढी उडान हुने बरालले बताए ।

बुद्धको पहिलो उडानबाट बुधबार १८ यात्रु धनगढी गएका छन् । ती यात्रु दुई दिन सुदूरपश्चिमका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी फर्किने नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

धनगढीबाट शुक्रबार सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीसहित व्यवसायी र सरोकारवालाको टोली पोखरा भ्रमणमा आउने छ । ‘हवाइ सेवाले दुई प्रदेशका राजधानीलाई मात्र जोड्दैन, धनगढीबाट पोखरा र पोखरादेखि धनगढी घुम्न जाने पर्यटकको संख्या पनि बढाउने छ,’ सिग्देलले भने, ‘भारतको सीमानजिक भएका कारण पनि भारतीय पर्यटकलाई पोखरा आकर्षित गर्न सकिन्छ ।’

उडान नियमित बनाउन एक–अर्को सहरले पर्यटक आकर्षित गर्ने प्याकेज घोषणा गरी मार्केटिङ गर्नुपर्ने पर्यटन बोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारीले बताए ।

पहिलो लहरको कोरोना महामारीलगत्तै नाट्टाकै नेतृत्वमा पोखरा–नेपालगञ्ज उडान भएको थियो । सीता एयरलाइन्सको सानो जहाजबाट उडान सुरु भएकोमा गत साउनदेखि बुद्धले नियमित उडान भरिरहेको छ ।

बुद्ध एयरलाइन्सले पोखरादेखि काठमाडौं, धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरासम्म उडान गर्दै आएको छ । आउँदो शनिबारदेखि पोखरा–जनकपुर पनि हवाइ सेवा पनि सुरु गर्ने तयारी छ ।

शनिबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित व्यवसायी र सरोकारवालाले बु्द्ध एयरमार्फत जनकपुर उडान गर्ने कार्यक्रम छ । पोखरा–जनकपुरको भाडादर चार हजार एक सयदेखि नौ हजार ३६० रुपैयाँसम्म रहने छ ।

बुद्ध एयरले भविष्यमा पोखरादेखि भद्रपुर र विराटनगरमा पनि उडान सञ्चालन गर्ने बुद्ध एयरको पोखरा स्टेसन म्यानेजर गौतम बरालले बताए ।

१८,फाल्गुन.२०७८,बुधबार १७:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्