प्रदेश विश्वविद्यालय सार्न खोजिएपछि बाँकेको खजुरामा आन्दोलित

बुटवल । लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुराबाट अन्यत्र सार्ने प्रदेश योजना आयोगले तयारी गरेपछि बाँकेको खजुरा गाउँपालिका आन्दोलित भएको छ ।

योजना आयोगले बाँकेमा अनुपयुक्त भएको भन्दै दाङको बंगलाचुली वा कपिलवस्तुको बहादुरगन्जमा विश्वविद्यालय बनाउन सम्भाव्यता अध्ययन थालेपछि खजुरा गाँउपालिका आन्दोलित भएको हो ।

गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी योजना कार्यान्वयनका बेला सार्न खोजिए कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । ‘प्रदेश राजधानी दाङ बनाउँदा बाँकेले सौदाबाजीमै विश्वविद्यालय प्राप्त गरेको हो’ खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले भने, ‘गाउँपालिकाले एकसय बिगाह जमिन उपलब्ध गराएर सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत पारित भएको अवस्थामा अन्यत्र सार्ने कुरा मान्य हुँदैन ।’

माओवादी केन्द्रका नेता वामदेव क्षेत्री उपाध्यक्ष रहेको प्रदेश योजना आयोगले विश्वविद्यालय सार्न गरेको तयारीको माओवादी केन्द्रकै सांसदहरूले आपत्ति जनाएका छन् ।

गाउँपालिकासँगै बाँकेका प्रदेश सांसदहरू आरती पौडेल, सुरेन्द्र हमाल, इन्द्रप्रसाद खरेल, कृष्णा केसीले पनि विश्वविद्यालय सार्ने तयारी आपत्तिजनक भन्दै त्यो स्वीकार्य नहुने बताइसकेका छन् ।

खजुरामा प्रदेश विश्वविद्यालयका लागि अघिल्लो वर्ष ३ करोड विनियोजन भए पनि ऐनको अभावमा खर्च भएको थिएन ।

चालु आ.व.मा १० करोड बजेट छुट्याएर ऐन पनि बनिसकेको अवस्थामा अन्यन्त्र सार्न षडयन्त्र भएको खजुराबासी बताउँछन् ।

लुम्बिनी सरकारले रातो किताबमा (राजपत्रमा) प्रकाशित गरिसकेको प्रदेश विश्वविद्यालयको विषयमा योजना आयोगले विभिन्न बहानाबाजी गर्दै अन्यत्र सार्ने प्रयास गर्नु गैरकानुनी भएको कक्षपतिले उल्लेख गरे ।

प्रादेशिक विश्वविद्यालयका सन्दर्भमा बाँके र बर्दियास्थित प्रदेश सांसद, राजनैतिक दल, पालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारवाला निकायसँग आन्दोलनबारे अन्तरक्रियाको तयारी गरिरहेको गाउँपालिकाले जनाएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित बाँकेका प्रदेश सांसद इन्द्रप्रसाद खरेलले विश्वविद्यालय सार्ने षड्यन्त्र सफल हुन नदिन खजुरा गाउँपालिकाले अगुवाइ गर्ने आन्दोलनमा सिंगो बाँके जिल्ला एकजुट भएर उत्रिने बताए ।

२०,फाल्गुन.२०७८,शुक्रबार १२:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्