
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र निजामती कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा आज यहाँ बोल्दै सञ्चार मन्त्री कार्कीले सङ्घीय निजामती ऐनप्रति सरकार पूर्ण जानकार रहेको र कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताएका हुन् ।
‘निजामती कर्मचारी मुलुकको स्थायी सरकार हो, व्यावसायिक चरित्रलाई कायम राख्दै कर्मचारी र जनताको हितमा काम गर्न म नेपाल निजामती कर्मचारी युनियनलाई आग्रह गर्दछु’, उनले भने । सहमतिमा नयाँ नेतृत्व छान्नुपर्ने उनको भनाइ थियो ।
सञ्चार मन्त्री कार्कीले मुलुक जटिल परिस्थितिका साथ अगाडि बढिरहेको बताउँदै व्यक्तिगत महत्वकांक्षालाई थाँती राखेर देश र जनताको हितमा काम गर्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गरे ।
समृद्ध मुलुक निर्माणमा निजामती कर्मचारीको ठुलो भूमिका रहेको भन्दै मन्त्री कार्कीले जनतालाई प्रत्याभूति हुने गरी कर्मचारीले काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्