सुन आयातमा आधा कटौती, दैनिक कोटा १० किलो मात्रै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा कटौती गरेको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सुन आयातमा आधा कटौती गर्दै दैनिक कोटा १० किलो तोकेको हो । यस अघि इजाजत प्राप्त वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।

रेमिट्यान्स घट्ने र आयात बढ्ने कारणले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुनको आयातका कडाइ गरिएको राष्ट्र बैंकको दाबी छ । मौद्रिक नीतिको समीक्षमार्फत नै उसले विलाशीताको वस्तुमाथि नियन्त्रण गर्ने बताएको थियो ।

चालु आर्थिक वर्षको माघसम्म नेपालमा ३ हजार ६४३ किलो सुन आयात भइसकेको छ । उक्त परिमाणमा सुन आयातका लागि मुलुकबाट २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ भन्दा धेरै रकम बाहिरिएको भन्सार विभागले जनाएको छ ।

सुन आयातको कोटा कटौतीको परिपत्र नेपाल राष्ट्र बैंकबाट प्राप्त भएको नेपाल सुन चाँदी व्यवसायी महासंले जनाएको छ । दैनिक २० किलो सुन बजारमा खपत भइरहेको बेला यस्तो निर्णय आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । मूल्य बढेका कारण अहिले कारोबार खस्किए पनि वैशाखमा बिहेको लगन सुरुभए पछि भने घटाइएको कोटाबाट नपुग्ने उनले बताए ।

२२,फाल्गुन.२०७८,आईतवार १७:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्