
काठमाडौं । पछिल्लो चरणमा नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन् ।
तीमध्ये धेरैजसोमा आफ्नो पक्षले जितेको नेता डा. शेखर कोइराला पक्षको दावी छ । चितवन, सिन्धुली, बाँके र नवलपुरमा नेता शेखर पक्षका उम्मेदवार विजयी भएका हुन् ।
चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा विजयी महेन्द्रध्वज जिसी संस्थापनइतरका हुन् । महोत्तरी जिल्ला सभापतिमा निर्वाचित नागेश्वर यादवले आफू स्वतन्त्र भएको दावी गरेका छन् भने शेखर कोइराला पक्षले आफूहरूले सहयोग गरेको बताएका छन् ।
पाँच जनाबीच प्रतिस्पर्धा हुँदा चितवन जिल्ला सभापतिमा कसैले बहुमत पाएका थिएनन् । संस्थापनइतरका खनालले धेरै मत पाए भने संस्थापन पक्षका मिलनबाबु श्रेष्ठ दोस्रो भए । तर, श्रेष्ठले समर्थन गरेपछि खनाल सभापति निर्वाचित भए ।
तीन उम्मेदवारमध्ये कसैले बहुमत नल्याएपछि बाँकेमा पनि दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा गौडेलले संस्थापन पक्षका बादशाह कुर्मीलाई पराजित गरेका थिए ।
नवलपुरमा सभापतिका अर्का आकांक्षी बालकृष्ण घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि शेखर पक्षका जिसी निर्विरोध सभापतिमा चयन भएका थिए ।
सिन्धुलीमा पनि दोस्रो चरणको मतदानबाट सभापति चयन भएको हो । संस्थापनइतर पक्षका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा उपेन्द्रकुमार पोखरेलले उज्ज्वलप्रसाद बराललाई पराजित गरे । बराल निवर्तमान सभापतिसमेत हुन् ।
महोत्तरीमा पनि पहिलो चरणमा कसैको बहुमत नआएपछि दोस्रो स्थानमा रहेका सुशील यादवले समर्थन गरेपछि पहिलो स्थानमा रहेका नागेश्वर यादव स्वतः सभापति चुनिएका थिए ।
संस्थापन पक्षका ३ जना
आठ जिल्लाको सभापति चयन हुँदा संस्थापन पक्षका तीन सभापति चयन भएका छन् । कैलालीका नारायणदत्त भट्ट, मकवानपुरका बुद्ध लामा र पर्साका जनार्दनसिंह क्षत्री संस्थापन पक्षका हुन् ।
कैलालीमा पहिलो चरणमा बहुमत नआएपछि भट्ट र संस्थापनइतर पक्षका प्रकाशबहादुर बमबीच प्रतिस्पर्धा भएको थियो ।
मकवानपुरमा पनि पहिलो चरणमा कसैले बहुमत ल्याएनन् । सभापतिमा लामासहित आनन्दराम पराजुली र जयराम लामिछानेले प्रतिस्पर्धा गरेका थिए । लामा पहिलो र पराजुली दोस्रो भएका थिए । तर बढी मत ल्याउने लामालाई सर्वसम्मतिबाट सभापति चयन गरिएको थियो ।
पर्सामा विजयी जनार्दनसिंह क्षेत्री पार्टी सभापति देउवा पक्षका हुन् । उनले श्याम पटेललाई पराजित गरे ।
कांग्रेसको १४औं महाधिवेशनअघि जिल्ला अधिवेशन हुनुपर्नेमा १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन । आइतबारसम्म आठ जिल्लाको अधिवेशन सकियो भने आठ जिल्लाको बाँकी छ । अब सिरहा, सप्तरी, धनुषा, अछाम, रौतहट, बारा, सर्लाही र सिन्धुपाल्चोकमा अध्यक्ष चयन बाँकी छ ।
अछामको मतदान दोस्रो चरणमा प्रवेश गरेकाले आइतबार मतदान भएको छ । धनुषाको अधिवेशन आइतबार भइरहेको छ । सभापतिमा पुष्पबहादुर शाह र भरतकुमार स्वाँर प्रतिस्पर्धा गर्दैछन् । सर्लाहीको अधिवेशनमा विवाद देखिएकाले स्थगित छ ।
सप्तरीको अधिवेशन शनिबार विवाद भएपछि स्थगित भएकामा सुरु हुन सकेको छैन । केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार सप्तरीको विवाद साम्य भएको छ ।
बारामा शनिबारका लागि तोकिएको अधिवेशनमा अनियमितता भएको प्रश्न उठेपछि रद्ध गरिएको छ । नयाँ मितिको भने टुंगो लागिसकेको छैन । बारामा देउवा पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेश राय सभापतिको उम्मेदवार बनेका छन् । शेखर कोइराला पक्षबाट रामानन्द यादव उम्मेदवार बनेका छन् ।
धनुषा, सर्लाही र सिरहाको अधिवेशन सोमबारका लागि तोकिएको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । सभापति देउवा पक्षबाट सन्तोष यादव, नेता शेखर पक्षबाट दिनेश प्रसैला यादव र नेता विमलेन्द्र निधिको पक्षबाट योगेन्द्र पञ्जियार सभापतिको उम्मेदवार बनेका छन् ।
रौतहटमा शनिबार भएको मतदानमा दुई पक्षले विवाद गरेका कारण स्थगित गरिएको छ। रौतहटको अधिवेशन पनि सोमबार सक्ने निर्वाचन समितिले तयारी गरेको छ।
सिन्धुपाल्चोकको अधिवेशन फागुन २७ र २८ को लागि तोकिएको छ। प्रेमध्वज लामा र वंशलाल तामाङ सभापतिका उम्मेदवार देखिएका छन्। लामा संस्थापन र तामाङ संस्थापनइरतबाट सभापतिका उम्मेदवार बन्ने भएका छन्।
हालसम्म ६९ जिल्लाको अधिवेशन सकिँदा बहुमत स्थानमा संस्थापन पक्षका जिल्ला सभापति विजयी भएका छन्। ३७ जिल्लामा संस्थापन र ३२ जिल्लामा शेखर पक्षका सभापति चयन भएका छन्।
१३औं महाधिवेशनमा संस्थापनइतरले बहुमत जिल्ला सभापति जितेको थियो । तत्कालीन समयमा ४२ जिल्ला सभापति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा थिए।
प्रतिक्रिया दिनुहोस्