संसार भरि कोरोना घटिरहेका बेला दक्षिण कोरियामा दैनिक थपिइरहेका छन् २ लाख बढी संक्रमित

एजेन्सी । एजेन्सी विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरसको महामारीको अहिले तेस्रो वर्षमा चल्दैछ।

विभिन्न मुलुकमा विभिन्न समयमा संक्रमण तीव्र भएर जनजीवन अस्तव्यस्त बनाएको कोरोनाभाइरसको नेपालमा तेस्रो लहर लगभग सकिएको छ। सोमबार नेपालमा ८ हजार ६ सय ३८ जनाको परीक्षण गर्दा ८८ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो।

नेपाललगायत संसारका धेरै मुलुकमा अहिले कोरोनाको संक्रमण घटिरहेको छ। दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानमात्र होइन युरोप, अमेरिका र अफ्रिकामा कोरोना संक्रमण घटेको छ।

वर्ल्डोमिटरका अनुसार गत जनवरी २१ मा ३८ लाख बढी संक्रमित थपिएकोमा अहिले सोमबार संसारभरि १२ लाख १५ हजार ७६४ जनामा नयाँ संक्रमण थपिएका छन्। संसारभरि कोरोना घटिरहेका बेला पूर्वी एसियाली मुलुकमा भने यसको संक्रमण बढिरहेको छ।

सबैभन्दा धेरै संक्रमण दक्षिण कोरियामा छ। त्यहाँ मंगलबार २ लाख २ हजार मानिस संक्रमित भएका छन् भने जापानमा ४० हजार संक्रमित थपिएका छन्।

भियतनाममा सोमबार १ लाख ४७ हजार जनामा संक्रमित थपिएका थिए। मलेसियामा २६ हजार, १३ हजार र थाइल्यान्डमा २१ हजार संक्रमित थपिएका थिए।

युरोपेली मुलुकमध्ये जर्मनीमा अहिले पनि १ लाखभन्दा बढी संक्रमित दैनिक थपिएका छन्।

दक्षिण कोरियासहित पूर्वी एसियाली मुलुकमा अहिले ओमिक्रोन भेरियन्ट फैलिइरहेको बताइएको छ। गत शुक्रबार एकैदिन कोरियामा २ लाख ६६ हजारमा संक्रमण पुष्टि भएको थियो।

नेपाल, भारतसहित युरोप र अमेरिकामा धेरै देशमा केही महिनाअघि यही भेरियन्टका कारण संक्रमण तीव्र भएको थियो।

२४,फाल्गुन.२०७८,मंगलवार १४:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्