पुलको निर्माण मापदण्ड अनुसार नभएपछि भत्काएर अर्को बनाउन निर्देशन

काठमाडौं । बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबेँशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।

तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो । २०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी नागार्जुन-जयबाबा-काष्ठमण्डप जेभीले निर्माण गरेको पक्की पुलको दुई स्पानमध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।

उनका अनुसार पुलको स्पान ढलान गरेपछि यसलाई तन्काउने क्रममा चर्किएसँगै भत्काएर नयाँ स्पान राख्न निर्माण व्यवसायीलाई पत्र पठाइएको छ ।

गत आइतबार निर्माण व्यवसायी पक्षलाई जारी गरिएको पत्रमा ‘सडक विभाग, पुल महाशाखाबाट स्वीकृत गरिएको डिजाइन अनुसार नभएकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्न’ उल्लेख गरिएको छ । भत्काउनुपर्ने पुलको स्पान दूरी ३० मिटरको छ ।

‘गतवर्ष फागुनमा स्पान निर्माणको क्रममा गुणस्तरहीन बालुवाको प्रयोग र तोकिएको परिमाणभन्दा कम सिमेन्टको प्रयोग गरेर ढलान गरिएको पाइएको प्राविधिक अध्ययनमा देखिएको छ ।’ उनले भने,’ढलान गरिएको स्पानको डोरी तन्काउदा पड्किएसँगै पुल जोखिम बनेकाले त्यसलाई सुधार गर्न भने पनि अटेर गरेर थप निर्माण गरेसँगै भत्काएर अर्को बनाउन अहिले निर्देशन दिइएको हो ।’

यसअघि मौखिक र पत्रमार्फत दिएको निर्देशनको अटेर गरेर निरन्तर पुल बनाएसँगै अहिले कुमरी–जीवनपुर सवारीसाधन सञ्चालन गर्न सकिने अवस्थामा पर्‍याइएको छ । तोकिएको सम्झौताभन्दा विपरीत जोखिम संरचनाको पुल बनाएर सञ्चालनमा ल्याएसँगै यसबाट दुर्घटना हुनेसक्ने हुँदा अहिलेको संरचना जतिसक्दो चाँडो भत्काएर अर्को स्पान राख्न निर्माण व्यवसायीलाई भनिएको छ ।

‘दिइएको निर्देशनको पालना नगरे निर्माण व्यवसायीलाई कारबाही र ठेक्कासमेत रद्द हुने कानूनी व्यवस्था भएकाले त्यसतर्फ जान बाध्य हुन्छौं ।’ डिभिजन प्रमुख रिमालले भने । पुल निर्माणका लागि ६ वर्ष अघि आठ करोड १४ लाखको ठेक्का लगाइएकोमा निर्माण व्यवसायीले ६ करोड २३ लाखमा बनाउने जिम्मेवारी पाएको थियो ।

२५,फाल्गुन.२०७८,बुधबार १३:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्