
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था दलित संघका दुई समूहले आसन्न महाअधिवेशनका लागि आफ्ना उम्मेदवार चयन गर्न सकेका छैनन् ।
चैत ७ देखि ९ सम्म बुटवलमा हुने गरी महाधिवेशनको मिति तय गरिएको छ। पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले उम्मेदवार चयन गर्न हालसम्म सकेका छैनन् ।
अध्यक्षका लागि दुवै समूहमा आधा दर्जन बढी दलित नेताले दावै गरेका छन् । सभापति देउवा पक्षबाट शम्भु हजारा पासवान, लोकेन्द्र विक, रामकृष्ण लकान्द्री क्षेत्र सिंह टेलर लगायतले अध्यक्षको दावी गरेका छन् । पूर्वसांसद् समेत रहेका पासवान दलित संघको पूर्वउपाध्यक्ष हुन्। पासवान नेता विमलेन्द्र निधि निकट हुँदा देउवा पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्न नसकेको बताइन्छ ।
अर्घाखाँचीका लोकेन्द्र विक पनि देउवा पक्षबाट अध्यक्षका आकांक्षी हुन्। उनी नेता मानबहादुर विश्वकर्मा निकट छन् । वर्तमान कार्यसमितिका उपाध्यक्ष रहेका रामकृष्ण लकान्द्री अमेरिका बस्छन् । तेह्रथुमका लकान्द्री दलित संघको अध्यक्षमा उम्मेदवार बन्नकै लागि उनी नेपाल आएका छन् । अध्यक्षको आकांक्षी टेलर संघका पूर्वउपाध्यक्ष हुन्। उनी कैलालीका हुन्। दलित संघमा लामो राजनीति गर्ने तर, पार्टीमा अवसर नपाएका व्यक्तिमा उनी चिनिन्छन्।
संस्थापनइतरबाट डोबाटे विश्वकर्मा, मुक्त महते, शिव सुनार र कृष्ण बिके रसाइलीले अध्यक्षको दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका उनी गण्डकी प्रदेशका मन्त्रीसमेत हुन् । उनी तनहुँका हुन् । सोही पक्षबाट अध्यक्षको दाबी गरेका महते दलित संघका पूर्वउपाध्यक्ष हुन्।
खड्ग बस्याल मन्त्री हुँदा उनले दलित संघमा कार्यवाहक अध्यक्ष बनेका थिए। उनी रामेछापका हुन् । तत्कालीन स्थानीय विकास मन्त्रालय अन्तर्गत स्थानीय विकास समितिमा मनोनित भएर कार्य गरेका गरेका थिए। उत्पेक्षित, उत्पिडित दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्षको जिम्मेवारी पाएका थिए।
संस्थापनइतरबाट अध्यक्षमा दाबी गर्नेमा काभ्रेका शिव सुनार महासमिति सदस्य हुन्। बाँकेका महाधिवेशन प्रतिनिधि कृष्ण बिके रसाइली पनि संस्थापनइतरबाट अध्यक्षको दौडमा छन्।
दलित संघको राजनीतिमा मीन विश्वकर्मा र जीवन परियार हाबी हुन्छन्। आफ्नो पक्षका उम्मेदवार टुंग्याउन आकांक्षीहरू सहित दुवै पक्षका नेताहरूको बैठक पटक-पटक बसे पनि उम्मेदवारको टुंगो भने लागेको छैन।
आसन्न महाधिवेशनमा आकांक्षीमा संस्थापनबाट शम्भु हजारा पासवान वा लकान्द्रीमध्ये एक हुने सम्भावना रहेको बताइएको छ। संस्थापनइतरमा डोबाटे सर्वाधिक बलियो आकांक्षी देखिएका छन्।
२०७३ सालमा सकिनुपर्ने संघको महाअधिवेशनको मिति तोक्दै पर सार्दै गरिएको थियो। महाधिवेशन गर्नका लागि जिल्ला तहको अधिवशन २०७३ सालमै सकिएको थियो।
प्रतिक्रिया दिनुहोस्