
काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आसन्न त्रिकोणात्मक एकदिवशीय शृंखलाको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले अभ्यास खेलमा लगातार राम्रो प्रदर्शन गरिरहेको छ ।
तेस्रो अभ्यास खेलमा बिहीबार प्रथम श्रेणी क्रिकेट खेल्ने श्रीलंका पुलिसविरुद्ध भिडिरहेको नेपाली टोलीले ३ सय ३२ रनको लक्ष्य दिएको छ ।
नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३१ रन जोडेको हो । नेपालका रोहित पौडेलले ७२, कुशल भुर्तेलले ५७, आसिफ शेखले ५२ र करन केसीले ५३ रन बनाए । कमलसिंह ऐरीले पनि ४५ रन जोडे ।
नेपालले अघिल्ला दुई खेलमा श्रीलंका नेभीमाथी फराकिलो जित हात पारेको थियो । यूएईमा हुने पपुआ न्युगिनीसमेत सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि नेपालले तयारी गरिरहेको हो ।
प्रतिक्रिया दिनुहोस्