
काठमाडौं । सडक निर्माण ठेकेदारलाई नक्कली बैंक जमानत बनाएर पेश्की निकाल्न सहयोग गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक जुम्ला शाखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा प्रमुख रामजनक चौधरीविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरेको हो । सोनापुर सिमेन्ट फ्याक्ट्री सडकको निर्माण ठेक्का पाएको वि.टी/टौदह/फस्कु जेभी काठमाडौंले पेश्की लिन उक्त बैंकबाट नक्कली बैंक जमानत लिएको आरोप अख्तियारको छ ।
मध्यपश्चिम सडक डिभिजन कार्यालयसँग भएको ठेक्का सम्झौतापछि चौधरीले ठेकेदार कम्पनीलाई फर्जी अग्रिम भुक्तानी जमानी पत्र र सो जमानीको नवीकरण गरेको फर्जी अग्रिम भुक्तानी जमानत पत्रहरुमा हस्ताक्षर गरि लिखत तयार गरेको आरोप अख्तियारले लगाएको छ ।
ठेकेदार कम्पनीहरूमध्ये बिटी निर्माण सेवाका तत्कालीन निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवाका प्रोपाइटर अर्जुनबहादुर बुढाथोकी र टौदह कन्स्ट्रक्सनका पुन्न बहादुर शाहीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्