सहरी विकास विधेयकलाई अन्तिम रुप दिन ढिलाइ भयो : अध्यक्ष वाग्ले

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए)का अध्यक्ष इच्छाबहादुर वाग्लेले सहरी विकास विधेयकलाई अन्तिम रुप दिन ढिलाइ भएको बताएका छन् । सहरी विकास विधेयक अहिले मस्यौदाको रुपमा सहकारी विकास मन्त्रालयमा रहेको छ । अध्यक्ष वाग्लेले यसलाई चाँडो भन्दा चाँडो अन्तिम रुप दिएर ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौंको जमलमा बिहीबार आयोजित संघको १५ औं साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष वाग्लेले संघका सदस्यहरुले संघको आर्थिक सुदृढीकरणका लागि सक्दो योगदान गर्नुपर्ने, कित्ताकाट फुकुवा हुनुपर्ने कुरामा जोड दिए ।

अध्यक्ष वाग्लेले हाउजिङ प्लानिङको प्रकृया सहज बनाउनुपर्ने, संघले काठमाडौं उपत्यका बाहिर पनि व्यवस्थित शहरीकरणका आयोजना सञ्चालन गर्नुपर्ने तथा नेपाल राज्यभर रियल इस्टेट उद्योगको विकासका लागि एउटा छाता संगठनको रुपमा महासंघ गठन गर्नुपर्ने बताए ।

संघको माग पूरा गराउनका लागि सम्बन्धित सरकारी निकायहरुसँग निरन्तररुपमा सम्वाद तथा अन्तरक्रिया अघि बढाउनुपर्नेमा उनको जोड थियो ।

अध्यक्ष वाग्लेले सदस्यहरु बीच आपसी सहयोग, समन्वय, सद्भाव, एकता एवं मैत्रीभाव कायम राखी रियल स्टेट उद्योगको विकासमा एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याए ।

अध्यक्ष वाग्लेले संघलाई एउटा सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न आफू पूर्णरुपले दत्तचित्त भई सबै व्यवसायीहरुको हक हितका लागि निरन्तररुपमा लडिरहने बताए ।

कार्यक्रममा संघका उपाध्यक्षत्रय विदुर धमला, दीपक कुँवर एवं भेषराज लोहनी, निवर्तमान अध्यक्ष मीनमान श्रेष्ठ र संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले संघको सुदृढीकरण तथा रियल स्टेट उद्योगको प्रवर्द्धन सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।

सभाले महासचिव पुरुषोत्तम पौडेलले पेश गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तुलसीप्रसाद अधिकारीले प्रस्तुत गरेको आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पारित गरेकाे छ । नेपाल जग्गा तथा आवास विकास महासंघ गठन गर्ने प्रस्ताव समेत अनुमोदन भएको संघले जनाएको छ ।

२७,फाल्गुन.२०७८,शुक्रबार १२:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्