कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख कर छलीको मुद्दा दायर

काठमाडौँ । बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँबराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुलउपर गरिनुपर्ने राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।

उच्च अदालत पाटनका प्रवक्ता ठगिन्द्र कट्टेलका अनुसार विभागले २०७१ सालमा कम्पनीको सेयर विक्री गर्दा भएको लाभको कर नबुझाएको भन्दै कुल ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ बिगो र त्यसको सत प्रतिशत जरिवाना गरेर कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर भएको बताए ।

‘विभागले मुद्दाको फाइल ल्याएर बुझाएको छ । फाइल धेरै नै ठूलो छ,’ उनले भने, ‘आइतबारसम्ममा सबै फाइल अध्ययन गरेर दर्ता गर्छौं । अनि मुद्दा प्रक्रिया अगाडि बढ्छ ।’

कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको विभागले जनाएको छ । नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा २४ (२०७७ फागुन ७ गते) कोकाकोला साब्को आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको मुद्दाको विवरणमा उल्लेख छ ।

कोकाकोला उत्पादक ‘बोटलर्स नेपाल लिमिटेड’ सँग अन्तरसम्बन्धित कम्पनी विदेशमै बिक्री गरेर कर छली गरिएको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन थालेको थियो। नेपालका सरकारी निकायलाई कुनै जानकारी नदिई उक्त कारोबार गरिएपछि प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धानले छानबिन थालेको थियो ।

बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर विदेशी लगानीकर्ता, २२ प्रतिशत सेयर नेपालस्थित खेतान ग्रुपअन्तर्गत गोरखा ब्रुअरी र २ प्रतिशत सेयर सर्वसाधारणको छ । ७६ प्रतिशत सेयरवाला विदेशी कम्पनी उतै बिक्री गरेर नेपालको आयकर ऐन, २०५८ अनुसारको २५ प्रतिशत पुँजीगत लाभकर छलि गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो ।

विभागले लामो अध्ययन र अनुसन्धानपछि शुक्रबार मुद्दा दायर गरेको हो । यो कर छलीबारे आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले सुरुमा न्युज कारोबार अनलाइनमा खुलासा गरेका थिए ।

बोटलर्स नेपालको भगिनी कम्पनी बोटलर्स नेपाल (तराई) पनि हो, जसमा बोटलर्स नेपालको ९१ प्रतिशत सेयर छ । बाँकी ९ प्रतिशत सेयर सर्वसाधारणको छ । सन् १९७३ मा स्थापित बोटलर्स नेपालले बालाजु औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गरी ४१ वर्षदेखि नेपाली बजारमा कोकाकोला र अन्य उत्पादनको कारोबार गरिरहेको छ । १९८७ मा अर्को कम्पनी बोटलर्स नेपाल (तराई) खडा गरी भरतपुरबाट पनि उत्पादन थालिएको थियो । अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोलाको मुख्यालय एटलान्टामा छ ।

२७,फाल्गुन.२०७८,शुक्रबार १६:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्