सर्वदलीय बैठकमा एमालेको जिकिर- अध्यादेश खारेजीसँगै नेकपा एसको राष्ट्रिय दलको मान्यता स्वतः खारेज

काठमाडौं । नेकपा एमालेले राजनीतिक दल विभाजन गर्न ल्याइएको अध्यादेश खारेज भएसँगै नेकपा एकीकृत समाजवादीले पाएको राष्ट्रिय मान्यता प्राप्त दलको हैसियत पनि खारेज हुने जिकिर गरेको छ ।

निर्वाचन आयोगले शुक्रवार आयोजना गरेको सर्वदलीय छलफलमा एमालेका प्रतिनिधि तथा कानून व्यवसायी बाबुराम दाहालले जुन अध्यादेशको दफा ४८ टेकेर राष्ट्रिय मान्यता प्राप्त दलको हैसियत दिइएको हो,सो अध्यादेश नै खारेज भएकाले नेकपा एसको सो मान्यता नरहने दावी गरेका हुन् ।

सरकारले एमाले विभाजनका लागि सहज हुनेगरि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएको थियो । एमाले र जसपा विभाजनसँगै सो अध्यादेश सरकारले निष्क्रिय गरेपछि पूरानै कानून ब्युँतिएकाले नेकपा एसले राष्ट्रिय पार्टीको मान्यता नपाउने दाहालले बैठकमा बताए ।

सो दल दर्ताको वैधानिकता अदालतमा विचाराधीन रहे पनि राष्ट्रिय मान्यता प्राप्त गर्ने हैसियत अध्यादेशसँगै खारेज भएको एमालेको तर्क छ । आयोगले भने यसबारे जवाफ दिएको छैन ।

२७,फाल्गुन.२०७८,शुक्रबार १७:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्