सुदुरपश्चिम प्रदेशमा कांग्रेसले भाग मागेपछि प्रचण्डले माधवलाई भने, ‘केही त्याग गर्नुस्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले पनि प्रतिनिधित्व खोजेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले सोमबार पत्रकारहरुसँग सझिप्त कुरा गर्दैै प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुरपश्चिम प्रदेशमा कांग्रेसको भाग मागेपछि कांग्रेसलाई पनि सुदुुरपश्चिम सरकारमा सहभागी गराउन लागेको बताएका हुन् ।

उनले कांग्रेसलाई पनि सहभागी गराउने भन्ने टुंगिसकेको र कसलाई कति मन्त्री दिने भन्ने टुंगिन बाँकी रहेको बताए ।

उनले भने,‘सुदुरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । नेपाली कांग्रेसले निर्वाचन नजिक आउँदै गर्दा सुदुरपश्चिममा पनि हाम्रो हुनपर्यो किनकि सबै प्रदेशमा छ सुदुरपश्चिममा नेपाली कांग्रेसको प्रतिनिधित्व छैन भनेर कुरा उठेको थियो ।’

प्रधानमन्त्री देउवाले सुदुरपश्चिममा सहभागी हुन खोजेपछि सख्ंया बढाउने ठाउँ नभएकाले समाजवादीबाटै धेरै मन्त्री भएकाले एसका अध्यक्ष माधव नेपाललाई त्याग गर्न आग्रह गरेको उनले बताए ।

उनले भने,‘अस्तिको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा,माधव नेपाल र म बीचको भएको छलफलमा नेपाली कांग्रेसलाई सहभागी गराउने कुरा उठ्यो । कांग्रेस सरकारमा सहभागी हुन्छु भनेको कुरालाई हामीले राम्र्रै मान्छौं । तर त्यसो गर्नका लागि हामीले यहाँ संख्या बढाउने ठाउँ नै छैन । भएकै संख्यामा कसै न कसैले त्याग गर्नुपर्ने हुुन्छ । अहिले समाजवादीको मन्त्रीहरु धेरै हुनुहुन्छ । माधव नेपालजीले नै पार्टीभित्र छलफल गरेर कति सकिन्छ अलिकति त्याग गर्ने पालो तपाईको आयो भन्ने कुरा पनि चर्चा भयो ।’

माधव नेपालले सुदुरपश्चिममा नेकपा एसलाइए नेतृत्व दिनुपर्छ भनेर कुरा राखेको उनले बताए ।

३०,फाल्गुन.२०७८,सोमबार ०९:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्