
बुटवल । अर्घाखाँचीमा सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले ३० वैशाखमा हुने आगामी निर्वाचनमा तालमेलको घोषणा गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सोमबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी स्थानीय संगै संघ र प्रदेशको चुनावमा तालमेल गरेर जाने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि स्थानीय, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनसम्म सत्ता गठबन्धनमा आवद्ध पांच दलबीच तालमेल हुने सहमति भएको बताए ।
एमालेले अन्य दललाई मानमर्दन गरेर दम्भ र अहंकार प्रदर्शन गरेकाले सत्ता गठबन्धनलाई चुनावसम्म कायम गर्नुपरेको श्रेष्ठले बताए । माओवादी केन्द्रकी छमकुमारी खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता र तानशाहीको बिरुद्धमा चुनावी तालमेल गर्ने सहमति भएको बताइन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहानले फेरि पनि एमालेले प्रतिगामी कदम चाल्ने खतरा रहेकाले त्यसलाई रोक्न गठबन्धन कायम राख्ने निर्णय भएको बताए ।
पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका जिन्दक खड्का र राष्ट्रिय जनमोर्चाका शेरबहादुर बीसीले गठबन्धन गरेर चुनावमा जाँदा सबै दलको समानुपातिक प्रतिनिधित्व हुने बताए ।
प्रतिक्रिया दिनुहोस्