
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एसियाली विकास बैंक (एडीबी)बाट हुने सहयोगका योजना द्रूत गतिमा अघि बढाउन आग्रह गरेकी छिन् ।
शुक्रबार मन्त्रालयमा एडीबीका प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने बताइन् । ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन् । सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौं,’ उनले भनिन्, ‘एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस हाम्रो चाहना छ ।’
मन्त्री झाँक्रीले राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका शहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन् ।
छलफलमा पूर्वाधार निर्माणमा भइरहेका काम र आगामी दिनमा सहकार्य गर्न सकिने लगानीको क्षेत्रको विषयमा मन्त्री झाँक्री र एडिबीका प्रतिनिधिबीच कुराकानी भएको छ ।
मनिलास्थित एडीबीका प्रतिनिधि केनिचि याकोयामाले मन्त्रालयसँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताए ।
उनले शहरीकरणको गुजरात मोडल अनुसार अब बन्ने शहरीकरणका परियोजना बनाउन सुझाव दिएका छन् । हाल एडिबीको लगानीमा नेपालमा भइरहेका कामको समिक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्