मिडियाको हेडलाइनले विगार्‍यो, जनता मसँग सन्तुष्ट छन् : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मिडियामा आएका हेडलाइनहरुले पनि धेरै कुरा विगारेको बताएका छन् ।

आफ्नो कार्यकालमा सम्पदा क्षेत्रमा भएको कामबारे जानकारी गराउन शुक्रबार पत्रकार सम्मेलन गरेका मेयर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद सञ्चारमाध्यममा आएको हेडलाइन जस्तो नभएको बताए । केही केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन खोजेपनि आफूले नगरसभा र कार्यपालिकाको निर्णय भन्दा बाहिर गएर कुनै काम नगरेको उनको भनाइ छ ।

‘विवादको विषयमा जे–जे हेडलाइन आए त्यस्तो हैन, कन्टेनमा ठिक थियो । तर हेडलाइनमा अलि कडा आउँदा धेरै ठूलो हो कि जस्तो लागेको हो’ उनले भने । रानीपोखरीमा कंक्रिट विवादमा आफ्नो अडान अहिले पनि कायम रहेको उनले बताए ।

रानीपोखरी वर्षमा एक दिन हैन, सधैं खुला हुनुपर्छ भन्ने आफ्नो योजना अनुसार काम गर्न खोजेको उनले बताए । कफि सप र शौचालय भने आफूले मन्दिर भित्र नभई शान्तिबाटिकामा बनाउन चाहेको र अहिले बनिरहेको पनि उनले बताए ।

उपमेयर र मेयरको विवादबारे एउटै मञ्चमा बहस गर्न आफू तयार रहेको उनको भनाइ थियो ।

मेयर शाक्यले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् । केही–केही काम आफूले घोषणा गरेको अनुसार नभए पनि धेरै काम सम्पन्न भएको उनको भनाइ थियो ।

आफ्नो कार्यकालमा जनता खुसी भएको भन्दै उनले यसले आफू पनि सन्तुष्ट भएको बताए । पहिले बनाउन नसकिएको मन्दिर र गुठी आफ्नो कार्यकालमा बनेको भन्दै यसले जनताहरु उत्साहित भएको शाक्यले बताए ।

सम्पदाका क्षेत्रमा आफ्नो कार्यकालमा भएको कामबारे विस्तृत विवरण सुनाएका मेयर शाक्यले अन्य क्षेत्रमा भएको कामबारे पनि चाँडै जानकारी दिने बताए ।

फोहोर व्यवस्थापनमा मेयर सफल हुन लागेको भनेर केही–केही मान्छेले खेल खेलिरहेको समेत उनको आरोप थियो।

निर्वाचन आयोगले बनाएको आचारसंहिताको विषयमा मेयर शाक्यले आपत्ति जनाएका छन् ।

जनताले जिताएर पठाएका जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्णय गर्नु आपत्तिजनक रहेको उनको भनाइ थियो ।

मेयरमा पुनः निर्वाचन लड्ने विषयमा पार्टीले जे निर्णय गरे पनि आफूलाई मान्य हुने उनले बताए ।

४,चैत्र.२०७८,शुक्रबार १६:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्