ड्रोनको लेन्समा लुकाएर ल्याएको सुनसहित भुटानी शरणार्थी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ड्रोनभित्र लुकाएर एक सय ग्राम सुन ल्याएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भुटानी शरणार्थीका रुपमा अमेरिका गएका अनिषहाङ बहिङ राई छन् । विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार बिहीबार दिउँसो १२ बजेतिर उनी विमानस्थलबाट पक्राउ परेका हुन् ।

‘उनको ड्रोनभित्र क्यामराको लेन्स छेऊमा अड्काएर राखेको अवस्थामा एक सय ग्राम सुन बरामद भएको छ’ भट्टराईले अनलाइनखबरसँग भने, ‘उनको लगेजमा रहेको जुत्ताभित्र पनि तीनवटा चाँदी जस्तो देखिने धातु बरामद भएको छ ।’

उक्त धातु ९३४ ग्राम रहेको भट्टराईले बताए । ‘उक्त धातु चाँदी नै हो कि होइन भन्ने परीक्षणका लागि प्रयोगशालामा पठाएका छौं’ उनी भन्छन्, ‘उनले ल्याएको चारवटा आईफोन पनि बरामद भएको छ ।’

सामान्यतयाः विदेशबाट फर्किँदा एउटा आईफोन ल्याउन पाइन्छ । थप ल्याए भन्सार दस्तुर तिरेर मात्र ल्याउनुपर्छ । विमानस्थलका एक अधिकृत भन्छन्, ‘खासमा सुन समातिएको भएर आईफोन पनि बरामद भएको हो, नभए कतिपय व्यक्तिगत प्रायोजनका कुरामा त्यति कडाइ हुँदैन ।’

भुटानी शरणार्थीका रुपमा राई सन् २०१५ मा अमेरिका गएका थिए । यसअघि २०१९ मा पनि उनी नेपाल आएको देखिन्छ । शरणार्थी बुबासँग बिहे गरेकी उनकी आमा पनि अहिले अमेरिकामै छिन् । र, परिवारलाई भेट्न उनी नेपाल आएको खुलेको छ ।

‘उनले आफूलाई त्यसरी ल्याउन पाइँदैन भन्ने थाहा नभएको बयान दिएका छन्’ एक अनुसन्धान अधिकृत भनछन्, ‘उनले अनलाइनबाट खरिद गरेको स्टेटमेन्ट पनि देखाएका छन् । यद्यपि, उनले तस्करी नगरेको भए पनि अवैध तरिकाले सामान ल्याएकाले फन्दामा परेका हुन् ।’

मूलतः नेपालमा तस्करीको सुन दुबई लगायतका मुलुकबाट आउँछ, अमेरिकाबाट आउने व्यक्ति सुनसहित समातिएको घटना विरलै छन् ।

४,चैत्र.२०७८,शुक्रबार १७:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्