कमजोर ब्याटिङपछि यूएइसँग अर्को नमिठो हार

काठमाडौं । विश्वकप लिग-२ अन्तरगत यूएइमा जारी त्रिकोणात्मक प्रतिस्पर्धामा घरेलु टिमसँग नेपाल पराजित भएको छ ।

यूएइले दिएको १६९ रनको सामान्य लक्ष्य नै पहाड बनेपछि नेपालले हार स्वीकार्न वाध्य भएको हो ।

शुक्रबार भएको खेलमा घरेलु टोली यूएई नेपालविरुद्ध ४८ रनले विजयी भयो ।

नेपाल ३५. १ ओभरमा १२० रनमा समेटिएको हो । नेपालका रोहित पौडेलले सर्वाधिक ४६ र ज्ञानेन्द्र मल्लले २८ रन बनाए । कुशल भुर्तेल ११, आसिफ शेख ७ र दीपेन्द्रसिंह ऐरीले ४ रन मात्र जोड्न सके भने आरिफ शेखले खाता खोल्न सकेनन् ।

खराब सुरुवात गरेको नेपाललाई रोहित र ज्ञानेन्द्रले सम्हाल्ने प्रयाश गरेका थिए । तर उनीहरुबीच चौथो विकेटका लागि भएको ५५ रनको साझेदारी तोडिएलगत्तै नेपाल लगातार दबाबमा आएको थियो ।

नेपालले चौथो विकेटका रुपमा ज्ञानेन्द्रलाई गुमाउँदा ८२ रन जोड‍ेको थियो जतिबेला २७ ओभरको खेल बाँकी नै थियो । तर ब्याट्सम्यानहरु खराब सर्टका शिकार भए ।

यूएईका फिल्डरले पनि स्तरीय प्रदर्शन गर्दै क्याचहरु लिए । नेपालले चौथो विकेट गुमाएपछि थप २६ रन जोड्दा चार विकेट गुमाएको थियो । यूएईका स्पीनर बासिल हमिदले ४ र जुनैद सिद्धिकीले ४ विकेट लिए ।

पहिलो विकेटका लागि १८ रनको साझेदारी गरेको नेपाली टोली एकाएक २७/३ को स्थितीमा पुगेको थियो । त्यसअघि टस जितेर ब्याटिङ थालेको यूएईले ४६ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय ६८ रन जोड्यो ।

नेपालका सोमपाल कामीले चार र करन केसीले ३ विकेट लिए । सागर ढकाल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट हात पारे । यसअघि बलिङ्गमा सोमपालले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । उनले शीर्ष तीन ब्याट्सम्यानलाई आउट गरेपछि यूएई ३५/४ को स्थितिमा पुगेको थियो । तर रोहन मुस्ताफा र चुन्दनगापोइलले पाचौँ विकेटका लागि अर्सधतकीय साझेदारी गरे । उनीहरुबीच ७७ रनको साझेदारी भएको थियो ।

उनीहरुदुवैले ४०/४० रन बनाए । माथिल्लोक्रमका मोहम्मद वासिम २१, चिराग सुरी ६ र विकेटकिपर भित्र्या अरविन्द ३ रनमा आउट भए ।

पहिलो विकेटका लागि १९ रनको साझेदारी गरेको यूएई त्यसपछि लगातार दबाबमा आएको थियो । सन्दीपले १० ओभरमा एक मेडन राख्दै ३० रन खर्चिए ।

सोमपालले ९ ओभरमा ३९ रन खर्चिँ चार विकेट लिए । करनले ७ ओभर ३ बलमा एक मेडन राख्दै १६ रन दिए ।

यसअघि पहिलो खेलमा नेपालले पपुआ न्युगिनीलाई २ विकेटले हराएको थियो ।

विश्वकप लिग-२ मा ९ खेलबाट १० अंक जोडेको नेपाल सात टोली सहभागी टोलीमध्ये छैटौँ स्थानमा रहेको छ । १६ खेलबाट २० अंक भएको यूएई दोस्रोमा छ। २८ खेलबाट ३६ अंक भएको ओमान शीर्षस्थानमा रहेको छ।

४,चैत्र.२०७८,शुक्रबार १८:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्