सिहंदरबारमा हेल्थ डेस्क पुनः सञ्चालनमा

काठमाडौं । सिहंदरबार भित्र कार्यरत कर्मचारीलाई लक्षित गरी पुन: हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।

कोरोना महामारीका कारण उक्त हेल्थ डेस्क बन्द भएको थियो । आइतबार मुख्य सचिव शंकर दास बैरागीले स्वास्थ्य जाँच गरी हेल्थ डेस्कको सेवा सुरु गरेका हुन् ।

हेल्थ डेस्कका लागि आवश्यक चिकित्सक, नर्स तथा प्यारामेडिक्ससहितको जनशक्तिको व्यवस्थापन वीर अस्पतालले गरेको छ ।

सिंहदरबारमा कार्यरत करिब ५ हजारभन्दा कर्मचारी स्वास्थ्य परीक्षणको नाममा कार्यालयबाट बाहिर जाने क्रम बढेपछि सरकारले बाध्य भएर उक्त डेस्कको स्थापना गरेको थियो ।

वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले उक्त हेल्थ डेक्सबाट साधारण स्वास्थ्य सेवा दिइने बताए ।

‘सिंहदबार कार्यरत विशिष्ट तथा अन्य कर्मचारी साधारण स्वास्थ्य समस्या परेको खण्डमा बाहिर जानुपर्ने नपर्ने उदेश्यले हेल्थ डेक्सको स्थापना भएको हो,’ डा. बस्नेतले भने,’ तत्काल आकस्मिक सेवा चाहिएको खण्डमा प्रारम्भिक उपचार गछौं ।’

हेल्थ डेक्समा ‘ए’ ग्रेड एम्बुलेन्स राखिएको छ । आवश्यक परेको खण्डमा आकस्मिक सेवा दिँदै अस्पताल सम्म लैजाने व्यवस्था गरिएको छ ।

डेस्क सञ्चालनमा आएसँगै कर्मचारीले स्वास्थ्य परीक्षणका नाममा सिंहदरबार परिसरबाट बाहिरिनु परे त्यहाँ रहेका चिकित्सकको सिफारिस अनिवार्य लिनु पर्नेछ ।

हप्ताको एक दिन विशेषज्ञ सेवा दिन उपलब्ध हुनेछ । कर्मचारीले बिहान १० बजेबाट दिँउसो ३ बजेसम्म सेवा पाउनेछन् ।

६,चैत्र.२०७८,आईतवार १३:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्