बेरुजु विद्यालयको विवरण सार्वजनिक गर्न समन्वय इकाईलाई निर्देशन

काठमाडौं । मानव विकास स्रोत केन्द्रले बेरुजु फछ्र्योट गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।

केन्द्रले बेरुजु भएका विद्यालयलाई बेरुजु फछ्र्योट नभएसम्म केन्द्रले प्रदान गरिने अनुदानका कार्यक्रममा सिफारिस नगर्न निर्देशन दिएको हो । त्यस्तैगरी बेरुजु भएका विद्यालयका जिम्मेवार प्रधानाध्‍यापकहरुलाई बेरुजु फछ्र्योट नभएसम्म पुरस्कार, सेवा सुविधाका लागि सिफारिस नगर्न अनुरोध गरेको छ ।

त्यस्तैगरी जिल्लाभित्र बेरुजु भएका विद्यालयको विवरण शिक्षा विकास तथा समन्वय इकाईले आफ्नो वेबसाईटमा राखी सार्वजनिक गर्नुपर्नेछ ।

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई नाममा रहेको बेरुजुको मात्रा ठूलो रहेको तथा बेरुजु सम्परीक्षण तथा फछ्र्योटका सम्बन्धमा भएको छलफलको आधारमा केन्द्रले गरेको निर्णय कार्यन्वयन गराउन शिक्षा किास तथा समन्वय इकाई र स्थानीय तहलाई अनुरोध गरेको जनाएको छ ।

समग्रमा १८, १९ हजार विद्यालय भवनको बेरुजु देखिएको र जिल्लामा र स्थानीय तहको बेरुजु स्थानीय तहमा नै कायम हुने भएकोले कति पुग्यो र कति फर्छ्योट भयो भन्ने यकिन तथ्यांक भने नभएको केन्द्रका लेखा नियन्त्रक बिनोद गेलालले बताए ।

उनले भने, ‘अहिले केन्द्रमा तथ्याङ्क छैन । त्यसैले समन्वय इकाईलाई आफ्नो जिल्लाको पहिलेको र अहिलेको बेरुजु अवस्था कस्तो छ ।सार्वजनिक गर भनेका छौं । त्यसले फछ्र्योट गर्न दबाब पनि हुन्छ भन्ने हिसाबले सूचित गरेका हौं ।’

६,चैत्र.२०७८,आईतवार १३:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्