सलमान नेपाल आउनुअघि मन्त्री आलेसँग भर्चुअल संवाद हुँदै, भारतीय पर्यटकको आकर्षण बढ्ने अपेक्षा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानसँग छलफल गर्ने भएका छन् । नेपालको पर्यटन प्रवर्द्धन तथा नेपाल भारतबिचको सांस्कृतिक सम्बन्धका बारेमा भर्चुअल संवाद हुने भएको हो ।

सलमान खान आगामी जेठ १४ गते दशरथ रंगशालामा आफ्नो प्रस्तुति देखाउन आउँदैछन् । सलमानलाई नेपाल ल्याउन लागेको ओडिसी इन्टरटेनमेन्टले त्यसअघि मन्त्री आलेसहितको भर्चुअल संवादमा सलमान सहभागी हुने जनाएको छ ।

सलानसँग पत्रकारहरूलाई पनि सवाल जवाफमा भाग लिन दिइने आयोजकले जनाएको छ । यसैबीच मन्त्री आलेले सलमान खान नेपाल आउँनु नै पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण अवसर भएको बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै आलेले सलमानलाई नेपाल ल्याउन आफूले पनि चासो दिएको र यसबाट पर्यटक भारतीय भित्र्याउन राम्रो अवसर सिर्जना हुने बताए । आलेले कोभिडका कारण ठप्प भएको नेपालको पर्यटन पुनः ब्युँताउन यस्तै खाले रचनात्मक काम अघि बढाइने बताएका छन् ।

सलमानलाई नेपाल ल्याउने सन्दर्भमा आलेले आयोजक संस्थालाई मन्त्रालयको तर्फबाट सहजीकरण समेत गरेका छन् । कलाकार लगायतलाई पेश्की रकम पठाउन राष्ट्र बैंकलाई विदेशी मुद्रा सटहीको अनुमति लगायतका प्रक्रियामा आलेले मन्त्रालयबाट सहजीकरण गरेका हुन् ।

६,चैत्र.२०७८,आईतवार १७:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्