नेपालले बोलकबोलमा प्रतिस्पर्धा गर्न नसक्दा भारतबाट बिजुली आपूर्ति रोकियो

काठमाडौँ । नेपालले इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मार्फत् किनिरहेको बिजुली आपूर्ति रोकिएको छ । अहिले भारतमा बिजुली निकै महँगो भएको र बोलकबोलमा प्रतिस्पर्धा गर्न नसक्दा बिजुली आपूर्ति रोकिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए ।

प्राधिकरणले मंगलबार राति १२ बजेदेखि बुधबार राति १२ बजेसम्मका लागि बिजुली किन्न बोलकबोलमार्फत प्रतिस्पर्धा गरेको थियो । तर नेपालले कबोलेको रकमभन्दा बढी मूल्य पुगेपछि बिजुली नपाएको हो ।

‘अहिले भारतमा बिजुलीको मूल्य निकै महँगो भयो । औसत मूल्य नै भारु १२ सम्म पुगेको छ । हामीले मंगलबार बिड गरेको मूल्यमा नपरेपछि बिजुली पाएनौं,’ प्राधिकरणका प्रवक्ता भट्टराईले भने, ‘अस्तिसम्म हामीले भारु ८/९ रुपैयाँमा बिडिङ गरेर लिइरहेका थियौं । तर हिजो भारु ११ रुपैयाँ २२ पैसासम्म पुग्यो । हामीले बिड गरेको रकमभन्दा बढी मूल्य भएकाले नपाएको हो ।’

नेपालले अहिले भारतबाट दैनिक साढे ४ सय मेगावाटभन्दा बढी बिजुली किनिरहेको छ । आईईएक्समा हरेक १५ मिनेटमा बिजुलीको मूल्य फरक हुन्छ र एक दिनमा ९६ वटा फरक–फरक मूल्य युनिटका लागि प्रतिस्पर्धा गर्नुपर्छ । नेपालले बुधबार दिनभरीका लागि गरेको बोलकबोलभन्दा भारतीय बजारमा बिजुलीको मूल्य बढी भएपछि नपाएको हो ।

नेपालको प्रणालीमा करिब साढे ४ सय मेगावाट बिजुली कम भएपनि माग व्यवस्थापनमा चुनौती देखिएको छ । यद्यपि, बुधबार पनि उद्योगधन्दाहरु चलिरहेको प्रवक्ता भट्टराईले बताए । भारतमा बिजुलीको मुख्य स्रोत कोइला, थर्मल प्लान्ट र प्राकृतिक ग्यास हो । रुस र युक्रेन युद्धको असर यी वस्तुमा पनि परेपछि त्यहाँ बिजुली महँगिएको छ ।

९,चैत्र.२०७८,बुधबार १२:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्