
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारीहरुको स्वार्थका लागि अदालत दुरुपयोग भइरहेको बताएका छन् ।
बुधबार सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले अदालतको दुरुपयोगकै श्रृङ्खलाका सहउत्पादनका रुपमा लामो समयसम्म हड्ताल चल्ने, पीडितहरुको न्यायको अधिकारमा अवरोध खडा गर्ने र स्वतन्त्र न्यायपालिकाको मर्ममाथि नै निर्मम प्रहार गर्ने स्थिति बनेको बताएका छन् । यसको पछिल्लो कडीका रुपमा सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
आफ्नो स्वार्थका लागि न्यायपालिकाका पदाधिकारीहरुलाई हदैसम्म उपयोग गर्ने र उपयोगिताको मूल्य सकिएपछि महाअभियोग प्रस्तावमार्फत अपमान गरिएको भन्दै उनले भनेका छन्, ‘यो तरिका अनैतिक र दुषित मनशायले युक्त छ ।’
पास गर्न चाहिने दुई तिहाइ संख्या आफूसँग छैन भन्ने जान्दाजान्दै महाअभियोग ल्याउनुको उद्देश्य प्रधानन्यायाधीशलाई निलम्बन गर्ने, आफू अनुकुल सेटिङ खडा गर्ने र न्यायालयको भय दोहन गर्दै आफूहरुविरुद्धका संगीन मुद्दाहरुबाट ध्यान विकेन्द्रित गर्नु र न्यायपूर्ण फैसला हुन नदिन अदालतमाथि दबाब सिर्जना गर्नु भएको ओलीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्