पर्यटनका लागि नेपाल खुला रहेको सन्देश दिन सलमान खानलाई मन्त्री आलेको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार अभिनेता खानसँग भएको भर्चुअल संवादमा उनले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि खुला भएको सन्देश विश्व समुदायलाई दिन आग्रह गरे । मन्त्रीको आलेको यो प्रस्तावलाई सकारात्मक रुपमा लिंदै सलमानले नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवद्र्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।

अभिनेता सलमान खानले आफू काठमाडौंको दशरथ रंगशालामा हुने कार्यक्रमका लागि आगामी जेठ १४ गते नेपाल आउन लागेको बताए । यसअभि पटकपटक नेपाल आउन आग्रह भएपनि समय नमिलेकाले यसपटक एकदमै उत्साहित रहेको सलमानले बताए ।

करिब १० मिनेट भएको भर्चुअल कुराकानीमा मन्त्री आलेले आफू खानको ठूलो फ्यान भएको र प्रायः अधिकांश फिल्म हेरेको पनि बताए । यस्तै उनले सलमानलाई सगरामाथा आरोहणको निम्तो समेत दिए ।

विश्व चर्चित अभिनेता भएका कारण सलमान खानले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउँदा देशलाई ठूलो फाइदा हुने बताए ।

दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो ।

९,चैत्र.२०७८,बुधबार १६:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्