
काठमाडौं । सडक मर्मत गरी पिच गर्न माग गर्दै ललितपुरको हसिसिद्धीका बासिन्दाले पनि सवारी आवागमन अवरुद्ध पारेका छन् ।
काठमाडौंको थली र ललितपुरको सातदोबाटो–चापागाउँका बासिन्दाले सडक बन्द गर्दै आएकोमा आजबाट हरिसिद्धीका बासिन्दाले पनि सडक बन्द गराएका हुन् ।
हरिसिद्धीमा स्थानीयको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सातदोबाटोबाट हरिसिद्धी हुँदै गोदावरी जाने सवारी साधनलाई क्यान्सर अस्पताल र सानागाउँ तर्फबाट आउने–जाने व्यवस्था मिलाइएको छ । यसैगरी गोदावरीबाट आउने सवारी साधनलाई ठैब, सानागाउँ, इमाडोल, ग्वार्को हुँदै आउने–जाने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
थलीको मिलनचोकमा स्थानीयले आज पनि सवारी आवागमन बन्द गराएका छन् । सडक पिच गर्न माग राख्दै स्थानीयले हिजो पनि सडक बन्द गराएका थिए ।
स्थानीयको अवरोधका कारण काठमाडौंको दक्षिणढोका थली हुँदै साँखु आउ–जाउ गर्ने मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको छ । सवारी साधनहरुलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ ।
सडक पिच गर्न माग गर्दै स्थानीयवासीले सातदोबाटो–चापागाउँ सडकखण्ड आज पनि अवरुद्ध पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्