अब सिटामोलको मूल्य २ रुपँयाभन्दा बढी पर्ने

काठमाडौं । सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ ।

बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो ।

‘विज्ञ सल्लाहकारको रायका अनुसार ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको भन्ने आयो । त्यसकारण ६५० एमजीको पारासिटामोल दर्ता गर्ने भन्ने निर्णय भयो,’ विभागका प्रवक्ता सन्तोष केसीले भने ।

उनका अनुसार डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने छ ।

तर, सरकारको यो कदमको उपभोक्ता अधिकारकर्मीले भने विरोध जनाएका छन् । उनीहरुले क्निकल परीक्षण नै नगरी औषधि उत्पादकको दबाबमा मूल्य बढाउने हिसाबले थप तौलको सिटामोल उत्पादन गर्न स्वीकृति दिएको आरोप लगाएका छन् ।

‘मूल्य छु्ट्टै बढाउने भन्ने होइन । ५०० एमजीको जति छ, त्यसको हाराहारी र अन्तर्राष्टिय सन्दर्भ हेरेर मूल्य तोकिने छ,’ केसीले भने । यसअघि करिब ५० वर्षदेखि सिटामोल ५०० एमजीमा उत्पादन हुँदै आएको थियो ।

औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए । औषधि व्यवस्था विभागका उच्च कर्मचारीका अनुसार ५०० एमजीको २ र ६५० एमजीको सिटामोलको मूल्य साढे २ रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल औषधि उत्पादक संघको तथ्यांक अनुसार नेपाली बजारमा बार्षिक करिब ७ करोड चक्की सिटामोलको माग हुने गरेको छ ।

११,चैत्र.२०७८,शुक्रबार १३:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्