उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथको शपथका लागि नेपाली ज्योतिष सुरेशचन्द्र रिजालसँग राय लिइयो

काठमाडौं । भारत उत्तर प्रदेशको मुख्यमन्त्री पदको दोस्रो कार्यकालका लागि शुक्रबार योगी आदित्य नाथले शपथ लिँदैछन् । उनको शपथ ग्रहण भारतीय समयअनुसार शुक्रबार अपरान्ह साढे ४ बजे हुनेछ । शपथ ग्रहणको मुहूर्त भारत र नेपालका ज्योतिषसँँगको सल्लाहअनुसार तय गरिएको छ ।

शपथ ग्रहण मूल समारोह समितिका पदाधिकारीले भारत र नेपालका ज्योतिषसँग राय लिएर दुवै देशबाट हुने उपयुक्त समय जुराएर शपथ ग्रहणको समय निर्धारण गरिएको हो ।

योगी आदित्य नाथको शपथ ग्रहणको मुहूर्त ज्योतिषीय र वास्तुअनुसार मिलाइएको दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।

आदित्य नाथको शपथ ग्रहण मूल समारोह समितिले महासचिव रिजालसँग पनि राय लिएको थियो । एक साताअघि समितिका व्यक्तिले आफूसँग भैरहवामा भेटेर आदित्य नाथको शपथ ग्रहणका सम्बन्धमा राय लिएको उनले न्युज कारखानालाई जानकारी दिए ।

आदित्य नाथ योगी सम्प्रदाय भएकाले यस सम्प्रदायका व्यक्ति शपथ लिँदा अपनाउनु पर्ने विषयमा आफूसँग समितिका व्यक्तिले राय लिएको ज्योतिष रिजालले बताए ।

‘योगी आदित्य नाथको शपथ ग्रहणको विषयलाई एक साताअघि भैरहवामा समितिका व्यक्तिहरू र मबीच छलफल भएको थियो,’ उनले भने, ‘आदित्य नाथ योगी सम्प्रदायका हुन् । यो सम्प्रदायका व्यक्तिले शपथ लिँदा अपनाउनुपर्ने र नेपालबाट हेर्दा कुन समयमा शपथ लिँदा राम्रो हुन्छ भन्ने विषयमा मसँग राय लिइएको थियो ।’

साथै गत मंगलबार पनि समितिका व्यक्तिले ज्योतिष रिजाललाई फोन गरेर थप राय लिएका थिए । ‘गत मंगलबार मलाई समितिका व्यक्तिले फोन गरेर थप राय लिनु भएको थियो,’ उनले न्युज कारखानालाई जानकारी दिए ।

उनका अनुसार उनले दिएको रायअनुसार नै योगी आदित्य नाथको शपथ ग्रहणको समय शुक्रबार अपरान्ह साढे ४ बजे तय गरिएको छ । उनको रायमात्र लिएको बताएका ज्योतिष रिजालले भारतका प्रख्यात र विद्वान ज्योतिषले दिएको समयलाई नै शपथ ग्रहणको समय तोकिएको जानकारी दिए ।

लखनउको इकाना स्टेडियममा योगी आदित्य नाथले उत्तर प्रदेश मुख्यमन्त्रीको दोस्रो कार्यकालको शपथ ग्रहण लिँदैछन् । शपथ ग्रहण समारोहमा प्रमुख अतिथिको रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहसहित केन्द्रीय सरकारका २५ मन्त्रीहरु पनि सहभागी हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । साथै विभिन्न प्रदेशका मुख्यमन्त्रीलाई पनि डाकिएको छ ।

शपथ ग्रहण समारोहलाई भव्य बनाउन लखनउका सडक, चोक र सार्वजनिक स्थानहरू सिंगारिएको छ । शपथ ग्रहण कार्यक्रममा करिब ७० हजारभन्दा बढी मानिसहरु भेला हुने अनुमान गरिएको छ ।

११,चैत्र.२०७८,शुक्रबार १५:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्