
जनकपुरधाम । मधेश प्रदेशका सांसदहरुले संसदीय विकास क्षेत्रअन्तर्गत छनौट भएका योजनाका लागि सरकारले हालसम्म बजेट उपलब्ध नगराएको गुनासो गरेका छन् । सांसदहरुले असोजमै योजना पेश गरेपनि सरकार हालसम्म यसतर्फ ध्यान नदिएको बताए ।
लामो समयपछि शुक्रबार प्रदेश सभाको बैठक बसेको छ । बैठकको सुरुमै समय लिदैं सांसदहरुले सरकारले योजना लिइसकेपनि कामकारबाही अगाडि नबढाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद उपेन्द्रप्रसाद कुसवाहाले प्रदेश सरकारले विकासको काम गर्न नसक्ने बताए । उनले जतिभन्दा पनि सरकार सुन्नेबाला नरहेको भन्दै सरकार नसच्चिएसम्म सदन चल्न दिन नहुने बताए ।
यस्तै सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद दिलिप साहले सरकारले संसदीय विकास क्षेत्रमा समानुपातिकलाई २५ लाख र प्रत्यक्ष सांसदलाई ५० लाखको योजना लिएपनि अहिलेसम्म कार्यान्वयनको बाटोमा नआएको बताए । उनले लिइएका योजनाहरुको बजेट अबिलम्ब उपलब्ध गराउन माग गरे ।
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का सांसद ज्ञानेन्द्र यादवले समयमा काम नहुनु भ्रष्टाचारको संकेत रहेको बताए । उनले समयमै काम गरेर जनतालाई लाभ दिनुपर्ने बताए ।
जसपाकै सांसद बच्चा राहत अहिरले पनि चाँडोभन्दा चाँडो योजनाको बजेट पठाउन माग गरे । उनले सांसदलाई खेलौना बनाइएको भन्दै चार दिनभित्र बजेट पठाउन माग गरे ।
विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की सांसद रानी शर्मा तिबारीले असोजमै पेश गरिएको योजनाका लागि बजेट नदिँदै इन्जिनियर पनि तय गर्न नसक्नु दुःखद रहेको बताइन् । उनले प्रदेश सभामा आफूहरु जति बोलेपनि सरकारले त्यसको महत्व नदिने गरेको बताइन् ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सांसद मंजु यादवले दलका नेताहरु मन्त्री पदको जागिर पाएपछि संसदीय व्यवस्थाको मर्यादा उल्लंघन भइरहेको बताइन् ।
‘केही दिनअघि आफूले यस्तो बोल्दा केहि माननीयले यस्तो किन बोलेको भनेका थिए, तर आफ्नै दलका नेताहरु मन्त्री बनिसकेपछि प्रदेश सभाको के काम ?’ उनले भनिन्, ‘बिघटन गरिदिँदा पनि हुन्छ । उहाँहरु जागिर चलाउँदै हुनुहुन्छ ।’
विपक्षी दल नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ ले संसदीय विकास क्षेत्रको बजेट वृद्धि गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस्