चिनियाँ विदेशमन्त्री भ्रमण : एमसीसीले चिसिएको सम्बन्धमा पुनर्ताजगीको आशा

काठमाडौं । दक्षिणी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका क्रममा आज अपरान्ह काठमाडौं ओर्लिँदै छन् । नेपालले चिनियाँ दबाब पन्छाउँदै हालै अमेरिकी सहायता परियोजना एमसीसी पारित गरेपछि उत्पन्न परिस्थितका बीच हुन लागेको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

एमसीसी ‘कम्प्याक्ट’ लाई नेपालमा फेल गराउन चीन मुखर ढंगले प्रस्तुत भएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले खुलेरै अमेरिकाको निन्दा गरेका थिए । नेपालका राजनीतिक दलहरूलाई विभिन्न तवरबाट दबाबसमेत दिइएको थियो । तर, नेपालको संसदले अन्ततः एमसीसीलाई अनुमोदन गरेको छ र यसलाई चीनले आफ्नो कूटनीतिक हार ठोको छ ।

आफ्नो ‘इन्ट्रेस्ट’ विपरीत एमसिसी अनुमोदनपछि नेपालप्रति चीनको रबैया के होला ? धेरैको मनमा उब्जिरहेको प्रश्न हो यो । एमसीसी अनुमोदन लगत्तै विदेश मन्त्री नेपाल आउनुले चीनले नेपालसँग सम्वन्ध बिगार्न नचाहेको देखिन्छ । यो भ्रमणले नेपाल-चीन सम्वन्धलाई पुनर्ताजगी गराउने विश्वास सरकारले पनि लिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार वाङ अहिले अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । आज उनको कुनै भेटघाट कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव सेवा लम्सालले जानकारी दिइन् । भोली विहान सबैभन्दा पहिले नेपाली समकक्षी परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ताको कार्यक्रम छ । त्यसपछि प्रतिनिधिमण्डलबीच वार्ता हुने कार्यतालिका रहेको लम्सालले बताइन् ।

भोलि नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि केही द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुनेछन् । यस्तै आइतबार चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

‘परराष्ट्र मन्त्रालयसँग तय भएको कार्यक्रम यही हो । फुर्सदको समयमा के गर्नुहुन्छ थाहा भएन,’ मन्त्रालय स्रोतले भन्यो ।

सम्बन्ध सुध्रिने आशा
चीनसँग नेपालको विगतदेखि सदाबहार रूपमा सुमधुर सम्बन्ध रहिआएको छ । तर, पछिल्लो केही वर्षयता थोरै उतार-चढाव देखिएका छन् । चीनले नेपालको आन्तरिक विषयमा चासो बढाउँदै लगेको घटनाक्रमहरूले देखाउँछन् ।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादमा चीनले बढाएको सक्रियताका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पछि चिनियाँ अधिकारीहरूलाई बेवास्ता गर्न थालेका थिए । उनी पहिले पहिलेका चीनका प्रियपात्र मानिन्थे ।

अहिले सत्तामा रहेको नेपाली कांग्रेस पनि कम्युनिष्ट पार्टीहरूभित्र चीनले खेल्दै आएको भूमिकाका कारण सशंकित छ । यसकारण नेपाली कांग्रेसभित्र चीनको विपक्षमा जनमत बढ्दै गएको छ । अर्कातिर विश्व भूराजनीतिमा अमेरिका र चीनविच बढ्दै गएको ध्रुविकरणको चक्रब्यूहमा पर्नसक्ने खतरा पनि नेपालसँग रहेको जानकारहरू बताउछन् ।

पछिल्लो समय एमसीसी मुद्दा, हुम्लामा देखिएको सीमा विवाद, तिब्बती शरणार्थीलाई परिचयपत्र लगायतका विषयमा चीनले संशय देखाइरहेको छ ।

यसबाहेक चीनको लगानीमा सञ्चालित बीआरआई लगायतका योजनाहरूमा भइरहेको ढिलासुस्ती, उत्तरी नाकाबाट सामान आयातमा आएको कमी लगाायतका विषयमा चीनको भूमिकाका विषयमा नेपालभित्र पनि टिकाटिप्पणीहरू भइरहेका छन् ।

यस्तोमा चिनियाँ विदेशमन्त्री यीको यसपटकको भ्रमणले यस्ता समस्याहरूको गहन छलफलबाट निकास निस्किने र नेपाल-चीनबीचको परस्पर सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको छ ।

११,चैत्र.२०७८,शुक्रबार १६:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्