कांग्रेसजनलाई देउवाको चेतावनी- प्रचण्ड हार्न चुनाव लड्छन् ? मिल्दिन्छन् भोलि एमालेमा गएर

‘ओली झन् बलियो हुँदै आएका छन्, एमाले फुट्यो भनेर मक्ख नपरौँ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी फुटिहाले त्यसैले जितिन्छ भन्ने भ्रममा नपर्न कांग्रेसजनलाई सचेत गराएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवा गठबन्धन गर्नु हुँदैन भन्ने नेताहरूप्रति आक्रोशित बने ।

देउवाले माओवादीलाई गठबन्धन गरेर नलाने हो प्रचण्ड कुनै पनि बेला एमालेसँग मिल्न जाने त्रास समेत देखाए । देउवाले एमाले अझै बलियो बन्दै गएको र नेपालमा कम्युनिस्टको धेरै ठूलो संख्या रहेकाले गठबन्धन आवश्यक भएको बताए ।

सभापति देउवाले भने–गठबन्धन कांग्रेस जिताउन गर्ने हो । हिजो शेखर कोइराला हारेको होइन ? हाम्रो हालत के थियो ? एमालेलाई फुटेको नसोचौँ,केपी ओली झन् बलियो बनेका छन् । भोलि माओवादीहरू एमालेसँग मिल्न गए भने ? प्रचण्ड हार्न चुनाव लड्छ ? मिल्दिन्छ नि जहाँ जितिन्छ त्यहीँ ? लखेटेपछि कहाँ जान्छन् ? ओलीलाई कमजोर नआँकौँ, धेरै बलियो छ एमाले ।

देउवाले कांग्रेसलाई बलियो बनाउन र कम्युनिस्ट मिल्न नदिन गठबन्धन आवश्यक रहेको दोहोर्‍याए ।

कार्यक्रममा शेखर कोइराला पनि थिए । कोइरालाले भने गठबन्धन गर्दा कांग्रेस आइको अवस्थामा पुग्ने चिन्ता व्यक्त गरे । उनले कांग्रेस मिले मात्र पनि जितिने बताए ।

१२,चैत्र.२०७८,शनिबार १५:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्