भित्र कागज राखेर डलर बिक्री गर्नेको कुटपिटबाट मृत्यु, पैसा लुकाउने असईमाथि छानबिन

काठमाडौं । सस्तोमा अमेरिकी डलर दिनेभन्दै भित्र कागज राखेर बिक्री गर्न खोज्ने एक व्यक्तिको ग्राहककै कुटपिटबाट मृत्यु भएको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का रमेश बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो।

चैत २ गते बुढाथोकीले सस्तोमा अमेरिकी डलर दिनेभन्दै कैलालीका विरेन्द्रबहादुर खड्का र मकवानपुरका सुरेश न्यौपानेलाई भक्तपुरको चागुनारायण बोलाएका थिए।

१० लाख नेपाली रुपैयाँको अमेरिकी डलर साँट्न उनिहरु ८ लाख रुपैयाँ लिएर पुगेको भक्तपुर प्रहरी प्रवक्ता राजु पाण्डेले जानकारी दिए। डलर भएको पोको लिएपछि खड्का र न्यौपानेले भित्र हेर्दा कागज मात्र भेटेपछि बुढाथोकीलाई कुटपिट गर्न सुरु गरेका थिए।

ुबाहिर डलर भएपनि भित्र भने कागज मात्र रहेछु, डीएसपी पाण्डेले भने। कुटपिटको घटनाबारे थाहा पाएपछि महानगरीय प्रहरी प्रभाग साँखुबाट तत्कालै असई दिलिप खड्का नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगेको थियो। घाइतेलाई उपचारका लागि अस्पताल लगिएपनि उनको मृत्यु भयो।

असई खड्काले घटनास्थलको मुचुल्का गर्दा बरामदी रकममा डलर नदेखाएपछि उनी अनुसन्धानमा तानिएका छन्। डिएसपी पाण्डेले खड्काको घरबाट ५ सय ६७ अमेरिकी डलर बरामद भएको बताए। प्रहरीले कुटपिट गर्ने दुई जनामाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

१३,चैत्र.२०७८,आईतवार १३:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्