
काठमाडौं । नेपाल विद्युत् प्राधिरकण र सडक विभागबीच सहमति नजुट्दा काठमाडौंको मुख्य क्षेत्रहरुमा तार भूमिगगत गर्ने काममा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिरकणले अस्तव्यवस्त ढंगले काम गरिरहेको भन्दै सडक विभागले रत्नपार्क, जमल, थापाथली, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, तीनकुने सिनामंगल र एयरपोर्ट क्षेत्रका मुख्य सडकमा तार भूमिगत गर्ने काम हुन नसकेको हो ।
मुख्य सडकहरु खनेर तत्काल मर्मत नगरेमा धुलो–हिलो बढ्ने भन्दै सडक विभागले प्राधिकरणलाई व्यवस्थित ढंगबाट काम गर्ने शर्तमा मात्रै अनुमति दिने अडान राखेको छ । यसबारे प्राधिकरण र विभागले पटक–पटक छलफल गरेपनि यसबारे ठोस सहमति भएको छैन ।
तार बिछ्याउन सडकका पेटीमा गत वर्षमात्रै चिटिक्क देखिएका सडक समेत खन्नुपर्ने अवस्था छ । सडक विभागले मुख्य सडकहरुमा पुराना टायल हटाएर आयताकार रङ्गिन टायल बिछ्याएको छ ।
आफ्नो योजनाबारे समयमै जानकारी नदिएका विद्युत प्राधिकरण, केयूकेएल, टेलिकम लगायत निकाय सडक भत्काउने अनुमति माग्न सडक विभाग धाइरहेका छन् । अरु निकायको काम रोक्ने अधिकार सडक विभागसँग छैन । विभाग आफैंले पनि शहरी सडकसम्बद्ध योजनाहरुमा अरु निकायसँग समन्वय नगरिरहेकोले ‘सडकमा लगानी बालुवामा पानी’ भनेजस्तो भएको छ ।
तार बिछ्याउने काम भद्रगोलसँग भएपछि सडक विभागले अहिले नेपाल विद्युत् प्राधिकरणलाई तार बिछ्याउन अनुमति दिन रोकेको छ । फुटपाथमै मास्ने, काम भइरहेको स्थानमा पनि खनेको माटो असरल्ल छाड्ने, खाल्डो नपुर्ने र समयमै कालोपत्रे नगर्ने समस्या छ ।
प्राधिकरणले ठेकदार कम्पनीलाई जिम्मेवार नबनाउँदा यसैपनि खाल्डैखाल्डाले समस्याग्रस्त काठमाडौंमा सडक र फुटपाथहरू थप भद्रगोल बनेका छन् । धेरै ठाउँमा पैदलयात्रीलाई पर्खाल र आउटडोर क्याबिनेट बक्सको बीचमा च्यापिएर हिँड्नुपर्ने बाध्यता छ । कतिपय ठाउँमा त फुटपाथ पूर्ण रुपमा ‘ब्लक’ भएको छ ।
अहिले बालुवाटार, बुढानीलकण्ठ, टोखा, गोंगबु, महाराजगञ्ज, रत्नपार्क, न्यूरोड, अनामनगर, धोबीखोला, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चावहिल, जोरपाटी क्षेत्रका सडकका विभिन्न स्थानमा राखिएका बक्सले पैदलयात्रुलाई समस्यामा पारेको छ । प्राधिकरणले महाराजगञ्ज र रत्नपार्कपछि कीर्तिपुर, कुलेश्वर, बानेश्वर, बालाजु र जोरपाटी वितरण केन्द्र अन्तरगगतका क्षेत्रमा पनि तार बिछ्याइरहेको छ ।
तार बिछ्याउने परियोजनाको गति पनि सुस्त छ । १५ कात्तिक २०७८ मा भित्र सकिसक्नुपर्ने महाराजगञ्ज र रत्नपार्क वितरण अन्तरगतको तार भूमिगत गर्ने काम आधा पनि सकिएको छैन ।
विद्युत् प्राधिकरणले आयोजनाअन्तर्गत ११ हजार भोल्टेजको करिब चार सय ५० किलोमिटर र चार सय भोल्टेजको करिब आठ सय किलोमिटर तार बिछ्याउन ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाउने गरी ठेक्का सम्झौता गरेको थियो ।
ठेकदारले सबैतिर यो प्रविधि अपनाएर काम भने गरेको छैन । यो प्रविधिमा प्रत्येक एक सय मिटरसम्मको दूरीमा खाल्डा खनेर पाइप घुसाएर तार हालिन्छ । तार बिछ्याइने सडकहरूमा कम्तीमा एक सय मिटरको दूरीमा दुई मिटरको वर्गाकार खाल्डाहरू खनिन्छन् ।
तर, धेरैजसो स्थानमा यस्तो प्रविधि अपनाइएको छैन भने प्रयोग भएका ठाउँमा पनि सयममै सडक मर्मत हुने गरेको छैन । सकेसम्म रातमा काम गर्नुपर्ने र खाल्डा पारिने स्थानमा धुलो उडाउन नदिन रबर म्याटले छोप्नुपर्ने सडक विभागसँग समझदारी भएपनि पालना भएको छैन । यसले सडकमा धुलो र हिलोको समस्या देखिएको छ ।
सकेसम्म सडक कम भत्काउने भन्दै समझदारी थियो । प्राधिकरणले विभागसँग सीमित ठाउँमा सडकमा मात्रै खाडल बनाउने र बिग्रिएको स्थानमा तार बिछ्याएको १० दिनभित्रै पुर्ने सहमति गरेको थियो । तर, सहमतिअनुसार काम नभएपछि सडक विभागले मुख्य सडकमा काम गर्ने अनुमति दिन आनाकानी गरिरहेको हो ।
खनिएका स्थानमा समयमै कालोपत्रे गर्न प्राधिकरणले चासो नदिएकाले अब ३ दिनभित्रै पुनर्स्थापना गर्ने गरी काम हुनुपर्ने विभागको माग छ ।
विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान सडक विभागसँग केही दिनमै औपचारिक सहमति भएर काम अघि बढ्ने बताउँछन् । ‘भित्री सडकहरुमा काठमाडौं महानगरपालिकाबाट अनुमति लिएर काम गरिरहेका छौं,’ उनले भने, ‘क्रमैसँग सडक विभाग अन्तरगतका सडममा पनि तार बिछ्याउने काम गर्छौं ।’
आवश्यकताअनुसार तार बिछ्याउन नयाँ सडकपेटी र सडक खन्नैपर्ने भएकाले सडक विभागसँग सहमति गरेरै अघि बढ्ने उनको भनाइ छ ।
प्राधिकरणले तार बिछ्याउन सडक र पेटी खनेपछि समयमै पुनस्र्थापना गर्न चासो दिने गरेको छैन । यसको मार सडक प्रयोगकर्ता र स्थानीयले भोगिरहनु परेको छ । निर्देशनालयका प्रमुख प्रधान व्यवस्थित ढंगले काम गर्ने प्रयास गरिएको दावी गर्छन् ।
प्रतिक्रिया दिनुहोस्