
काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) ले ५०० एमजी सिटामोलको उत्पादन नरोक्ने स्पष्टीकरण दिएका छन् ।
संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी ६५० एमजीको सिटामोल उत्पादन गरे पनि नेपालमा ५०० एमजीको सिटामोल उत्पादन नरोकिने बताएका हुन् ।
औषधि सल्लाहकार समितिको हालै बसेको ५३औं बैठकले नेपालमा पनि ६५० एमजीको सिटामोल उत्पादन गर्ने र त्यसको मूल्य प्रतिट्याब्लेट दुई रुपैयाँ बनाउने निर्णय गरेको थियो ।
यसअघि ५०० एमजीको सिटामोल उत्पादन हुँदै आएकामा अब सिटामोलको डोज बढाएर जनस्वास्थ्यमाथि नै खेलबाड गर्न खोजिएको भन्दै विरोध भएको थियो ।
तर औषधि उत्पादकले भनेका छन्, ‘…५०० एमजीको उत्पादन निरन्तर भई ६५० एमजीको पनि उत्पादन गर्नको लागि अनुमति प्रदान भएको हुँदा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने समेत ध्यानाकर्षण गराउन चाहन्छौं ।’
त्यसैगरी, कोभिड-१९ महामारीमा नेपाल तथा विभिन्न राष्ट्रहरुमा चिकित्सकहरुले सिटामोल ६५० एमजी मात्र नभई एक हजार एमजीसम्मको डोज आवश्यक भएको बताएका भन्दै औषधि उत्पादकहरुले नेपालमा ६५० एमजी सिटामोलको उत्पादन गरेको तर्क गरेका छन् ।
तर, अध्ययन र क्लिनिकल परीक्षण बिना सिटामोलको मूल्य बढाउनका लागि डोज बढाइएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च, नेपाल फार्मेसी संघ लगायतका संस्थाले विरोध जनाएका छन् ।
हेर्नुहोस् औषधि उत्पादक संघको विज्ञप्ति
प्रतिक्रिया दिनुहोस्