कांग्रेस बैठकमा उपसभापति गुरुङले सबैको सम्पत्ति छानबिन गर्न माग गरेपछि…

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०४६ सालपछिका सबै जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

कांग्रेस केन्द्रीय समितिको सोमबारको बैठकमा उपसभापति गुरुङले निर्वाचन गठबन्धनले नभई एजेण्डाले जितिने भन्दै भ्रष्टाचारीलाई कारबाही गर्ने एजेण्डा बोकेर चुनावमा जानुपर्ने बताएका हुन् ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई २०४६ सालयताका सबै प्रधानमन्त्री,मन्त्री, सांसद र स्थानीय जनप्रतिनिधिहरूको सम्पत्ति विवरण सार्वजनिक गराउने अभियानको नेतृत्व लिने गुरुङले आग्रह गरे ।

‘प्रधानमन्त्रीजीले हिम्मत गर्नुहोस् । सबैको सम्पत्ति विवरण सार्वजनिक गरौँ । भ्रष्टाचारीलाई जेल हाल्ने एजेण्डा बोकेर चुनावमा जाऔँ । जनताले दुई तिहाइ दिनेछन् । कुनै कम्युनिस्ट पार्टीको बुँइ चढ्नुपर्दैन’, बैठकमा गुरुङले भनेका थिए ।

उनले भ्रष्टाचार नै मुलुकको मुख्य शत्रु रहेको भन्दै आफू सम्पूर्ण सम्पत्ति विवरण सार्वजनिक गर्न तयार रहेको बताए । उनले कांग्रेसका नेताहरूबाटै सम्पत्ति विवरण सार्वजनिक र छानबिनको काम थाल्नुपर्ने बताए ।

‘म आफ्नो सम्पत्ति सार्वजनिक गर्न तयार छु । हामी सबैले आ–आफ्नो सम्पत्ति सार्वजनिक गरेर जनतामा जाऔँ । यति हिम्मत गर्‍यौ भने देश पनि बन्छ, कांग्रेसले पनि जित्छ’, गुरुङको भनाई छ । अन्य नेताहरूले बोल्दाबोल्दै जवाफ फर्काएका सभापति देउवाले भने उपसभापति गुरुङलाई कुनै जवाफ दिएनन् ।

चुनावी तालमेलको विपक्षमा उभिदै आएका उपसभापति गुरुङले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा ठूला अनियमितता काण्डको छानबिन गर्ने उल्लेख भए पनि परिणाम नदेखिएको गुरुङको भनाई छ ।

उपसभापति गुरुङले मङ्गलवार पनि सामाजिक सञ्जालमार्फत प्रजातन्त्र पुनर्स्थापनापछिका सबै गाविस अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर, उपमेयर, सांसद, मन्त्री, प्रधानमन्त्री, उच्चपदस्थ कर्मचारी, सेना, प्रहरी र न्यायाधीशसमेतको सम्पत्ति छानबिन गरेर भ्रष्टाचारविरुद्ध अभियान चलाउन माग गरेका छन् ।

उनले सम्पत्ति छानबिनको सुरुआत आफैबाट गर्नसमेत माग गरेका छन् ।

१५,चैत्र.२०७८,मंगलवार १३:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्