काठमाडौंको मेयर उठ्ने तयारीमा रमेश खरेल, भन्छन्- महानगरलाई सफा गर्नु छ

काठमाडौं । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारीका लागि तयारी थालेका छन् ।

नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले त्यसका लागि आफूले छलफल थालेको स्वीकारे ।

‘मैले निर्णय त गरिसकेको छैन । उठ्दिन भन्ने अवस्था पनि छैन । अहिले छलफल गरिरहेको छु’, उनले नेपाल प्रेससँग भने ।

खरेलले विज्ञ र सरोकारवालाहरूसँग आवश्यक छलफल गरिरहेको बताए । उनले आफू उठ्दा काठमाडौंमै लड्ने प्रष्ट्याएका छन् ।

‘हामीले काठमाडौं महानगरलाई सफा गर्नु छ । त्यसैले मैले उम्मेदवारी दिएँ भने त्यो काठमाडौंबाटै हुन्छ’, खरेलले भने । दुई वर्षअघि सर्वेन्द्र खनाललाई आईजीपीमा बढुवा गरिएपछि खरेलले डीआईजीबाट राजीनामा दिएका थिए ।

एसएसपीबाट डीआईजीमा बढुवा हुँदा दोस्रो नम्बरमा झारिएका खरेलले खनाललाई आईजीपी नियुक्त गरिएसँगै प्रहरी सेवाबाट अवकाश लिने निर्णयमा पुगेका थिए । त्यसको केही समयपछि भ्रष्टाचार र अनियमितताविरुद्ध संस्थागतरूपमा अभियान चलाएका खरेलले केही महिनाअघि नयाँ पार्टी खोलेका हुन् ।

काठमाडौँको मेयरमा चर्चित र्‍यापर बालेन शाहले पनि उम्मेदवारी दिने यसअघि घोषणा गरिसकेका छन् । शाह पेशाले इन्जिनियर हुन् ।

१६,चैत्र.२०७८,बुधबार १६:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्