महिला वडा सदस्य : ‘सिक्दासिक्दै पाँच वर्ष बित्यो, फेरि अवसर पाए काम गर्छौं’

विराटनगर । सुशीला मुर्मु मोरङको रंगेली नगरपालिका-२ की वडा सदस्य हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा महिला सदस्य निर्वाचित उनलाई सुरुमा बोल्नै डर लाग्थ्यो । नयाँ अभ्यास भएका कारण स्थानीय तहका बारेमा बुझेकी पनि थिइनन् । मुर्मुलाई सिक्न र बुझ्न पाँच वर्ष लाग्यो । ‘सुरुमा जानिएन, यो पाँच वर्षमा सिकियोे,’ उनी भन्छिन्, ‘फेरि अवसर पाए वडाको विकास गर्नेछु ।’

२०७४ सालको चुनावअघि स्थानीय तहमा नयाँ संरचना बनेको थियो । यो नयाँ अभ्यास थियो । त्यसैले वडाको बारेमा र आफ्नो काम र जिम्मेवारीका बारेमा बुझ्नलाई लामो समय लागेको बताउँदै उनले भनिन् ‘नयाँ मान्छे आउँदा सिक्दा सिक्दै समय धेरै जान्छ ।’ उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएकी थिइन् ।

बेलबारी नगरपालिका-५ की दलित महिला सदस्य रामकुमारी नेपालीले पनि पाँच वर्षमा अनुभव बटुलिन् । वडामा काम गर्न सिकेका कारण अब बढुवा हुने उनको योजना छ ।

‘हिजो हामी माइक समातेर बोल्न सक्दैनथ्यौं, विस्तारै नगर र वडा चलाउन सक्ने भएका छौं,’ कांग्रेसबाट वडा सदस्य बनेकी उनले भनिन्, ‘वडामा काम गरेको अनुभव छ, पार्टीमा उपमेयरको टिकट माग्दैछु ।’

ग्रामथान गाउँपालिका-२ की वडा सदस्य नानीमैया बिकलाई जनताको सेवा गर्ने रहर पुगेकै छैन । उनलाई फेरि चुनाव जितेर जनताको काम गर्ने मन छ । ‘दुई वर्ष कोरोनाले खायो, भर्खर काम गर्न जागरुक भएका छौं,’ उनले भनिन्, ‘तर पार्टीका नेता तपाईंको पालो सकियो भन्दैछन्, पाँच वर्षसम्म सिकें, अझै काम गर्न मन छ ।’

कटहरी गाउँपालिका-१ की वडा सदस्य महावती माझीको पनि उस्तै चाहना छ । पाँच वर्षमा अनुभव र सीप सिकेको बताउने उनी फेरि जनप्रतिनिधि बनेर काम गर्न चाहन्छिन् ।

लेटाङ नगरपालिका-३ की वडा सदस्य ईश्वरी बुढाथोकी अनुभव हासिल गरेका जनप्रतिनिधिलाई नै फेरि अवसर दिए काम गर्न सक्ने बताउँछिन् । ‘यो पाँच वर्षमा धेरै कुरा सिकेका छौं, अब पाँच वर्ष वडाको काम गर्ने रहर छ,’ उनले भनिन्, ‘हामी महिलाले फेरि अवसर पाउनुपर्छ ।’

२०७४ को स्थानीय तह चुनावमा ७५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा दलित महिलासहित १३ हजार ४ सय ८६ जना महिला चुनिएका थिए ।

निर्वाचनमार्फत वडाको नेतृत्वमा आएका महिलालाई दलहरुले फेरि अवसर दिनुपर्ने प्रतिनिधिसभा सांसद पार्वती बिसङ्खे बताउँछिन् ।

महिला सदस्यहरुको क्षमता विकासमा काम गरिरहेको बताउने उनी पाँच वर्ष काम गर्न सिकेका महिलालाई दलले पुनः अवसर दिए नेतृत्वमा स्थापित हुने बताउँछिन् ।

‘महिलाको नेतृत्व विकास गर्न हिजो वडामा सिक्ने अवसर पाएका महिलाहरुलाई पुनः अवसर दिए गाउँको विकासमा टेवा पुग्छ,’ उनले भनिन्, ‘नयाँ महिला सदस्य आउँदा सिक्न समय लाग्छ ।’

१७,चैत्र.२०७८,बिहीबार ०८:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्