गोलबजार-११ का वडाअध्यक्षको हृदयघातका कारण निधन

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका-११का वडा अध्यक्षको हृदयघातका कारण निधन भएको छ ।

नगरपालिकाको वडा नम्बर-११ का वडाअध्यक्ष रामदेव यादवको शुक्रबार निधन भएको हो । ५२ वर्षीय यादवलाई एक महिनाभित्रै दुई पटक हृदयघात भएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए ।

उनका अनुसार एक महिनाअघि पनि उनलाई हृदयघात भएको थियो । त्यस बेला उपचार गराएर घर आएका उनलाई बिहीबार पुनः हृदयघात भएको थियो ।

हृदयघात भएपछि उनलाई उपचारका लागि वी.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए पनि उपचारका क्रममा शुक्रबार मृत्यु भएको नगरप्रमुख साहले बताए ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यादव नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनको आजै अन्तिम संस्कार गरिनेछ ।

वडा अध्यक्षको निधन भएपछि शुक्रबार नगरपालिकाभित्र शोक विदा दिइएको नगर प्रमुख साहले बताए ।

१८,चैत्र.२०७८,शुक्रबार १३:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्