पाकिस्तानका प्रधानमन्त्रीले गरे संसद भंगको सिफारिस, चुनाव गर्ने घोषणा

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटनको सिफारिस गरेका छन् । उनले चुनाव गर्ने घोषणा पनि गरेका छन् । चुनावकाे मिति नतोकिए पनि ९० दिनभित्र नै निर्वाचन गर्ने बताइएको छ । ।

विपक्षी गठबन्धनद्वारा अघि सारिएको अविश्वासको प्रस्ताव तल्लो सदनले अस्वीकार गरेलगत्तै देशबासीको नाममा सम्बोधन गर्दै खानले संसद भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताएका हुन् ।

‘देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यो देशको भविष्यको निर्णय गर्ने अधिकार अरु कसैलाई छैन, यहाँका जनताले त्यसको निर्णय गर्नेछन्।’

उनले निर्वाचनको लागि तयार रहन जनतालाई अपिल समेत गरे ।

पाकिस्तानमा आज बसेको तल्लो सदनको बैठकले विपक्षी गठबन्धनले अघि सारेको अविश्वासको प्रस्तावमा मतदान गर्ने तयारी थियो । राष्ट्रियसभाका उपसभामुख कासिम खान सुरीको अध्यक्षतामा बसेको उक्त बैठकले अविश्वासको प्रस्ताव संविधानको धारा ५ विपरीत रहेको भन्दै खारेज गरिदिएको थियो ।

२०,चैत्र.२०७८,आईतवार १५:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्