दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपाललाई टी-२० शृङ्खलाको उपाधि

काठमाडौं । दीपेन्द्रसिंह ऐरीकाे उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिदेशीय टी-२० शृङ्खलाको उपाधि जितेको छ ।

आज भएको फाइनल खेलमा पुपुवा न्यूगिनी (पीएनजी) लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।

नेपालका लागि एक हजार रन पूरा गरेको दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले ।

दीपेन्द्रले ब्याटिङतर्फ अविजित अर्धसतकीय इनिङ खेल्दै बलिङतर्फ चार ओभरमा १८ रन खर्चिदै दै सर्वाधिक चार विकेट लिए ।

कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । उनले चार ओभरमा २५ रन खर्चिएका थिए ।

करण केसीले ३ ओभमा २७ रन खर्चिदै तीन विकेट लिए ।

१६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो ।

पीएनजीको ब्याटिङमा सेसे बाउले ५९ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उनले ३८ बल खेल्दै १ चौका र ६ छक्का प्रहार गरे ।

चाल्र्स अमिनी १५ रन बनाएर आउट हुँदा अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

यसअघि, पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट प्रदर्शन गरे । दीपेन्द्रले ३८ बलमा ५ चौका सहित सर्वाधिक ५४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलका थिए । मध्य क्रम धर्मराएको बेला क्रिजमा आएका करणले १२ बलमा ५ चौका र एक छक्कासहित ३३ रन जोडे । जसको सहयोगमा नेपालले बलियो स्कोर बनाएको थियो ।

ओपनर कुशल भुर्तेल २५ रन, आसिफ शेख २९ रन, रोहित पौडेल २ रनमा आउट भए । आदिल अलाम १५ रनमा पभेलियन फिर्किएका थिए ।

पीएनजीको बलिङमा सिमो कामियाले सर्वाधिक तीन विकेट लिए । चाड सोपेर, काबुवा मोएरा र रिले हिकुरेले समान एक विकेट लिए ।

मलेसिया सम्मिलित शृङखलामा अपराजित रहँदै नेपालले उपाधि जितेको हो । यो सन्दीप लामिछानेको कप्तानीमा नेपाले जितेको पहिलो उपाधि हो ।

२१,चैत्र.२०७८,सोमबार १६:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्