प्रचण्ड-माधवको अवरोध सम्झिँदै ओलीले भने, ‘देशको कुरा गर्यो कि मैले के पाउँने भनेर दुई घण्टा कराउँथे’
वि.सं.२०७८ चैत २३ बुधवार १५:०१
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठेरो र अवरोधकोबीच पनि कसरी काम गर्नुपर्छ भन्ने आफूले बितेका ३ वर्षमा धेरै सिकेको बताएका छन् ।
एमाले निकट उद्योग व्यवसायी महासंघको महाधिवेशनलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अप्ठेरोकाबीच विकासका नयाँ नयाँ योजनाको जग बसाउन सकिएकोमा गर्व लागेको बताए ।
ओलीले भने– हामी अहिले केही समय सरकार बाहिर छौँ । त्यो बेला पनि काम गर्न आफ्नैले कहाँ दिएका हुन् र ? एकातिर प्रचण्ड, अर्कोतिर माधव नेपाल अनि अर्कोतिर झलनाथ । देश विकासको कुरा गर्नासाथ देशभन्दा पहिले मेरो कुरा गर्नुछ यहाँ भनेर एउटा दुई घण्टा कराउँछ । अनि अर्कोले मैले के पाउँछु भनेर दुई घण्टा कराउँछ । यस्तो अवरोधका बीच पनि कसरी विकासको काम अघि बढाइयो होला ।
ओलीले विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने र नयाँ दृष्टिकोणका साथ ठूला ठूला परियोजनाहरु अघि बढाउने काममा आफू सफल भएको दावी गरे ।
उनले अप्ठेरोमा काम गर्न आफू अभ्यस्त भइसकेको भन्दै अब चुनावबाट बाँकी योजना पूरा गरिने बताए ।






















