खोटाङ । खोटाङमा राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको छ । गत १७ चैतको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्षमा सुरेश राईलाई नियुक्त गरेपछि बुधबार कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालयमा रहनेगरी राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएकाे हाे।
कार्यालय स्थापनासँगै राष्ट्रिय भूमि आयोग जिल्ला समितिका नवनियुक्त अध्यक्ष राईले पदभार सम्हालेका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति नौ सदस्यीय रहने व्यवस्था छ । आयोगले करिब पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पुर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
जिल्लाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई आवासका लागि प्रतिपरिवार ३४० बर्गमिटर र कृषिका लागि तीन हजार वर्गमिटर जग्गा व्यवस्था गर्नुपर्ने प्रावधान रहेको राष्ट्रिय भूमी आयोग जिल्ला समितिका सदस्य सचिव जिल्ला नापी कार्यालयका नापी अधिकृत मदन खत्रीले बताए ।
अव्यवस्थित बसोबासीलाई आवासका लागि प्रतिपरिवार एक हजार बर्गमिटर र कृषि प्रयोजनका लागि १० हजार बर्गमिटर जग्गा उपलव्ध गराइने समितिले जनाएको छ ।
भूमीहिन कोही नहुन् भन्ने लक्ष्यकासाथ वार्षिक कार्ययोजना बनाएर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या हल गरिने समितिका नवनियुक्त अध्यक्ष राईले बताए । कार्यक्रमलाई सफल बनाउन दल, स्थानीय तहका जनप्रतिनिधि लगायतलाई सहभागी गराएर अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागि पहल गरिने अध्यक्ष राईले बताए ।
प्रतिक्रिया दिनुहोस्