
काठमाडौं । पत्रकार ऋषि धमलाले प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानभित्र उद्दण्डता गरेको विषयमा नेपाल प्रेस काउन्सिलमा मौखिक बयान दिएका छन् । काउन्सिलको आचारसंहिता अनुगमन समितिले करिब एक घण्टा उनको बयान लिएको हो ।
स्रोतका अनुसार धमलाले विमानभित्रको भएको घटनालाई लिएर दुख व्यक्त गरेका थिए । प्रधानमन्त्रीको भ्रमणका विषयमा जनतालाई छिटो सुसूचित गर्नका लागि आफूले विमानभित्र लाइभ गरेको भन्दै उनले यदि आफ्नो क्रियाकलापबाट विमानका कर्मचारीहरूलाई अप्ठेरो परेको भए क्षमा याचना गर्ने बताए ।
धमलाले पत्रकार आचारसंहिता आफूले राम्ररी नबुझेको स्वीकार गरे ।
उनले भने, ‘मैले आचारसंहिता अध्ययन गरेको रहन्छु । अब राम्ररी पढेर यसलाई मनन गर्छु र अरू पत्रकारहरूलाई पनि आचार संहिता अध्ययन गराउन क्याम्पेन नै चलाउँछु ।’
नियामक निकायका रूपमा काउन्सिलले आफूमाथि गरेको निगरानीलाई सकारात्मक रूपमा लिएको धमलाले बताए । यसले पत्रकारिता जगतलाई शुद्धीकरण गर्न मद्दत मिल्ने उनले विश्वास व्यक्त गरे ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहित आचारसंहिता अनुगमन समितिका पदाधिकारीहरूले धमलासँग सोधपुछ गरेका थिए । बयान दिन धमला १२ बजेतिर एक्लै काउन्सिल पुगेको स्रोतले बतायो ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानभित्र धमलाले टेलिभिजन लाइभ गर्ने नाममा कर्मचारीमाथि हुल हुज्जत गरेका थिए ।
त्यस विषयमा काउन्सिलले धमलासँग लिखित स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै आज मौखिक बयान लिएको हो । काउन्सिलले थप अध्ययन र छलफल पश्चात् धमलाका बारे निर्णय लिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्