सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको अध्यक्षमा दुई दाहाल बिच टक्कर
वि.सं.२०७९ वैशाख ६ मंगलवार १२:२०
shares

सुनकोशी । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका आकांक्षी धेरै भएपछि उम्मेद्वार छनोट पेचिलो भएको छ । गाउँपालिका कमिटीमा पटकपटक छलफल भए पनि सहमति जुट्न नसक्दा सात जनाको नाम सिफारिस भएको छ । जिल्ला समन्वय समितिले सातै जनाको नाम प्रदेश कमिटीमा पठाएको छ ।
सुनकोशी गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रले गर्दैआएको छ । गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाल र उपाध्यक्ष दीर्वसिं मुक्तानले अध्यक्षमा जबरजस्त दावी गरिरहेका छन् । अघिल्लो निर्वाचनमा पार्टीलाई जित हासिल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमोद दाहाल समेत अध्यक्षको दौडमा छन् । त्यसो त जनजातिको वाहुल्यता रहेको सुनकोशीमा दुधराज पुलामीले पनि आफ्नो अडानलाई कायमै राखेका छन् । त्यस्तै, महेश्वर कोइराला, केशव लोहार ‘भीषण’ र शिक्षक शंकर उप्रेती सुवोध शर्मा ले पनि झिनै रुपमा भए पनि आफ्नो उम्मेद्वारी उभ्याएका छन् ।
यद्यपि, सुनकोशीको भावी अध्यक्षका रुपमा चर्चा गरिदै आएका वडा नम्बर ५ का अध्यक्ष तथा युवा व्यवसायी सन्तोष दाहाल अध्यक्षको रेसबाट बाहिरिएका छन् । सुनकोशीमा अध्यक्ष, उपाध्यक्ष मात्र होइन माओवादी केन्द्रले वडा अध्यक्षका उम्मेद्वारसमेत सर्वसम्मत गराउन सकेको छैन । वडाको उम्मेद्वारसमेत सर्वसम्मत् बनाउन नसकेको भन्दै अध्यक्षका केही आकांक्षीको त बैठकमै उछितो काढिएको थियो । ‘वडाको उम्मेद्वार सर्वसम्मत बनाउन नसक्ने अनि अध्यक्षको दावी गर्ने ? भन्दै कार्यकर्ताहरुले बिरोध जनाएका थिए ।
सुनकोशीको पार्टी इन्चार्ज दीपा दाहाल र अध्यक्ष दुधराज पुलामी छन् । पार्टीभित्र उम्मेद्वार सर्वसम्मत बनाउनुको सट्टा आफैँ अध्यक्षका लागि शक्ति केन्द्रमा दबाब सिर्जना गर्दै हिँडेको भन्दै सुनकोशीकै कार्यकर्ताहरु रुष्ट बनेका छन् । पार्टी नेतृत्वले पार्टीभित्र सौहाद्र र मैत्रीपूर्ण अन्तरसंघर्ष सञ्चालन गर्दै पार्टीको जीतलाई सुनिश्चित गर्न लाग्नुको सट्टा आफैँलाई टिकट चाहिन्छ भन्दै अड्डी कस्दै हिँड्नुले वातावरण विगारेको आरोप इन्चार्ज दाहाल र अध्यक्ष पुलामीमाथि लाग्दै आएको छ ।
सुनकोशी गाउँपालिका वडा नम्बर १ बाट नै तीन जना उम्मेद्वारका लागि आकांक्षी छन् । यसले भौगोलिक प्रतिनिधित्वका हिसावले समेत राजनीतिक मुद्दालाई कमजोर बनाएको छ । तीनजनाबीच सहमतिसाथ जोकोही एकजना अगाडि बढेको भए पार्टीमा दर्बिलो दबाब सिर्जना हुनसक्ने सम्भावना थियो । एउटै वडामा तीनजनाबीच एकले अर्कोलाई नमान्ने स्थितिले पार्टीमा तिनैजनाको मागलाई कमजोर बनाएको विश्लेषण माओवादी कार्यकर्ताहरु गरिरहेका छन् ।
माओवादीको जिल्ला संयोजक रामकुमार पौडेल हुन् । उनीसमेत भूमि आयोगको अध्यक्षबाट राजीनामा दिएर मरिण गाउँपालिकाको अध्यक्षका लागि दावी गरिहेका छन् । जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य राजन दाहाललाई स्थानीय कमिटीलाई कार्यकर्ता लडाएर अन्तिममा आफ्नी श्रीमती दीपा बाहोरा दाहाललाई टिकट दिलाउन लागिरहेको आरोपसमेत लाग्ने गरेको छ ।
यद्यपि, गठबन्धनको दवावका कारण पनि त्यो सम्भव नहुने स्थानीय राजनीतिक विश्लेषकहरु बताउँछन् । गठबन्धन दल काँग्रेसका अधिकांश नेता तथा कार्यकर्ताले अध्यक्ष दिपा बोहराको कार्यशैली र व्यवहार रुचाउँदैनन् । सोही कारण समेत इन्चार्ज राजन दाहाल दबाबमा छन् । सुनकोशी काँग्रेसले त गठबन्धनको पक्षमा नजाने भनेर विज्ञप्तिसमेत जारी गरिसकेको छ ।
देउवा पक्षीय काँग्रेसको उपस्थिति सुनकोशीमा झिनो छ । उनीहरु समेत दीपा बोहराको नाममा कुनै पनि हातलमा सहमति जुट्न नसक्ने बरु ‘नो भोट’ जाने भन्दै सामाजिक सञ्जाल रङ्गाइरहेका छन् । यस्तो परिस्थितिमा काँग्रेसलाई समेत मिलाएर जानसक्ने उम्मेद्वारको खोजी माओवादी केन्द्रभित्र भइरहेको स्रोतको दावी छ ।
जनयुद्धको समयमा सिन्धुलीलाई पूर्वको रोल्पाका रुपमा चिनिन्थ्यो । त्यसमा पनि अमले र नागेडाँडालाई माओवादीको आधार क्षेत्रका रुपमा लिइन्थ्यो । सोही गाउँबाट जनयुद्धमा छ जनाले जीवन दिए । त्यसो त सुनकोशीबाट मात्रै जनयुद्धमा १२ जनाभन्दा बढीले बलिदानी दिएका थिए । त्यो बलिदानीलाई विकास र समृद्धिमा रुपान्तरण गर्न आवश्यक समेत रहेकाले विकासको माहौल सिर्जना गर्नसक्ने नेतृत्व स्थापित गर्नु सुनकोशीको माओवादीका लागि चुनौतीपूर्ण छ । अझ पाँच वर्षसम्म जनताले माओवादी केन्द्रको नेतृत्वबाट विकासको अवस्था हेरिसकेकाले पनि निर्वाचनमा जित प्राप्त गर्न नयाँ नेतृत्वको खोजी वाध्यकारी जस्तै छ ।
गठबन्धनबीच समन्वयकारी भूमिका, विकास र समृद्धिलाई संस्थागत गर्दै आम सुनकोशीवासीको आवाज बोक्नसक्ने नेतृत्वका रुपमा माओवादीभित्रै प्रमोद दाहालको उम्मेद्वार बढि सम्भावना नजिक रहेको माओवादी स्रोतको दावी छ । उम्मेद्वार छनोटको जिम्मा प्रदेश कमिटीमा गइसकेकाले मुख्य रुपमा दिपा दाहाल र प्रमोद दाहालबीच नै अन्तिम टक्कर पर्ने अवस्था रहेको छ । माओवादीको प्रदेश कमिटी सदस्य समेत रहेका प्रमोद दाहाल प्रेस संगठनका केन्द्रीय सदस्य हुन् ।
विद्यार्थी संगठनबाट राजनीतिक यात्रा थालेका प्रमोदले नेतृत्व विकास सम्बन्धी दुई वर्षे अध्ययनसमेत सफलतापूर्वक सम्पन्न गरेका छन् । गठबन्धनबीचको समन्वयकारी भूमिका, नेतृत्वकारी क्षमता, विकासका पक्षमा विना राजनीतिक पूर्वाग्रह निरन्तर लाग्ने स्वभाव, प्रदेश र केन्द्रसम्मको राजनीतिक पहुँचका हिसावले पनि प्रमोद दाहालको पक्षमा पल्लाभारी बन्दै गएको विश्लेषण माओवादी कार्यकर्ताको छ ।
























