ललितपुर महानगरमा माओवादीबाट उपमेयर उठेकी हसिना राप्रपाको मेयर उम्मेदवार बन्दै

ललितपुर । नेकपा माओवादी केन्द्रबाट ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवार बनेर पाँच वर्षअघि पराजित भएकी हसिना शाक्य यसपटक राप्रपाबाट मेयरको उम्मेदवार बन्ने भएकी छन् ।

राप्रपा स्रोतका अनुसार महिला र १८ हजार भन्दा बढी शाक्य समुदाय मतदाता रहेका कारण हसिनालाई अघि सार्ने तयारी छ । उनी यसअघि उपमेयर उम्मेदवार बनेर जनताबीच परिचित पनि भइसकेकाले मेयरका रूपमा अघि सार्दा सशक्त उम्मेदवार बन्ने राप्रपाको आँकलन छ ।

केही दिनअघि मात्र नेकपा माओवादी केन्द्र छाडेर हसिना राप्रपामा प्रवेश गरेकी थिइन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए । हसिना पनि मेयरको एक चर्चित प्रत्यासी रहेको भन्दै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले उम्मेदवार सिफारिस र निर्णय प्रक्रिया भने बाँकी नै रहेको बताए ।

हसिनाले भने आफू पार्टीको हाइकमाण्डको निर्णय पर्खेर बसेको भन्दै अहिले नै केही नबोल्ने बताइन् । उनले पार्टीले निर्णय गरेपछिमात्र बोल्न उपयुक्त हुने बताइन् ।

पाँच वर्षअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा हसिना शाक्यलाई उपमेयरको भाग्य चिठ्ठा नै परेको थियो ।

माओवादी केन्द्रबाट ललितपुर उपहानगरपालिकाको उम्मेदवार बनेकी मञ्जली शाक्यको नाम मतदाता नामावली सूचीमा नभेटिएपछि उम्मेदवारी दर्ताको अन्तिम क्षणमा हसिनालाई अघि सारिएको थियो ।

माओवादीबाट २०७४ मा उपमेयरको उम्मेदवार बनेर १२ हजार ९७९ मत प्राप्त गरेकी थिइन् । जबकी माओवादीका मेयर दिपेश महर्जनले १० हजार मत पाएका थिए । मेयर उम्मेदवारको भन्दा उनले करिब ३ हजार मत बढी ल्याएकी थिइन् ।

यसपटक मञ्जली शाक्य माओवादी छाडेर एमालेबाट उपमेयरको उम्मेदवार बन्दैछिन् भने हसिना राप्रपाबाट मेयरको प्रत्यासी हुने सम्भावना छ ।

६,बैशाख.२०७९,मंगलवार १३:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्